काठमाडौं । सत्तारुढ दल नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको शक्ति संघर्षको असर संवैधानिक परिषदमा पनि परेको छ । प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद् बैठकमा प्रचण्ड निकट सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित हुनुभएको छ ।
मंगलबार बिहान बोलाइएको बैठकमा प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना मात्रै उपस्थित भएका कारण गणपुरक संख्या नपुग्दा दोस्रोपटक बैठक स्थगित भएको छ । बैठक साँझ ५ बजे फेरि बोलाइएको स्रोतले जनाएको छ ।
पार्टीका दुई अध्यक्ष ओली र प्रचण्डबीच संघर्ष चर्किरहेका बेला त्यसको प्रभाव संवैधानिक परिषद् बैठकमा पनि परेको हो । समन्वयन अभाव, पर्याप्त गृहकार्य नभएको भन्दै सभामुख सापकोटा बैठकमा सहभागी नभएका उहाँका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
आइतबारको बैठकमा पनि सभामुख सापोकोटा र विपक्षी दलका नेता देउवा अनुपस्थित हुनुहुन्थ्यो । जसले गर्दा गणपुरक संख्या नपुगेर बैठक स्थगित भएको थियो ।कांग्रेसले सोमबार देशभर प्रदर्शनको तयारी गर्नुपर्ने भएकाले देउवा अनुपस्थित भएपनि सापकोटाको अनुपस्थिति ओली र प्रचण्डबीच शक्ति संघर्षकै परिणाम भएको बताइन्छ ।
आइतबारकै बैठकमा प्रधानमन्त्री ओलीले मंगलबार बैठक बस्ने जानकारी गराउनुभएको थियो । संवैधानिक परिषद ऐन २०६६ मा बैठकको विषयको बारेमा ४८ घण्टाअघि जानकारी गराउनु गर्ने व्यवस्था छ।
६ सदस्यीय संवैधानिक परिषदमा अध्यक्षसहित ५ जना सदस्यको उपस्थिति हुनुपर्ने व्यवस्था छ । संवैधानिक परिषद् ऐन २०६६ को दफा ६ को उपदफा ३ मा अध्यक्ष र अन्य चार सदस्यको उपस्थिति अनिवार्य गरिएको छ । संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष, प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहने व्यवस्था संविधानमा छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न संवैधानिक आयोगमा रिक्त स्थानमा नियुक्तिका लागि सिफारिस गर्न प्रधानमन्त्री ओलीले परिषद्को बैठक बोलाउनुभएको हो । अहिले अख्तियारलगायत विभिन्न आयोगमा प्रमुख तथा आयुक्त गरी ४५ पद रिक्त छन् ।
