काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशैभर प्रदर्शन गरेको छ । ‘सरकारले सर्वसत्तावाद लाद्न खोजेको, भ्रष्टाचार बढेको र प्रतिगामीहरु सलबलाएको’ भन्दै कांग्रेस विरोध प्रदर्शनमा उत्रिएको हो ।
केही दिनअघि तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलले बुल्दिखोला पुल उद्घाटन गर्ने क्रममा भएको विवादपछि नेता पौडेलमाथि दुर्व्यवहार भएको कांग्रेसले आरोप लगाएको छ । विभिन्न जिल्लामा भएका प्रदर्शनलाई कांग्रेसका केन्द्रीय नेताहरुले सम्बोधन गरे ।
धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री गगन थापाले संसद्बाट भागेको सरकारलाई ठेगान लगाउन नेपाली कांग्रेस सडकमा उत्रिएको बताउनुभयो ।
ओली सरकार इतिहासकै भ्रष्ट भएको भन्दै नेता थापाले निर्मला पन्तदेखि निर्जला चौधरीको बलात्कार र हत्यामा संरक्षण गर्ने गृहमन्त्री, बालुवाटारको जग्गा हडप्ने अर्थमन्त्री र स्वास्थ्य सामग्री खरिदमा कमिसन खाने स्वास्थ्य मन्त्री नै प्रधानमन्त्रीका पृय रहेको बताउनुभयो ।
नेपाल सरकार संलग्न भएर भएको एउटा पनि भ्रष्टाचारको काण्ड प्रधानमन्त्रीको संरक्षण विना नभएको भन्दै कांग्रेस नेता थापाले भ्रष्टाचारी खोज्न बालुवाटार गए पुग्ने बतानुभयो । सरकारले हावादारी गफ दिँदै समय बिताएको आरोप लगाउँदै जनताको पक्षमा कुनै काम गर्न नसकेकोले कांग्रेसले खवरदारी गरिहरेको बताउनुभयो ।
कांग्रेसले हेटौँडामा गरेको विरोध सभालाई सभापति शेरबहादुर देउवा र काठमाडौंमा वरिष्ठ नेता पौडेलले सम्बोधन गर्नुभएको थियो ।
