दैलेखबजार । राष्ट्रिय जनमोर्चा दैलेखले ‘गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, सङ्घीयता र भ्रष्टाचार विरुद्ध सङ्घर्ष गरौँ’ मूल नाराका साथ २०७७ मङ्सिर २८ गते सदरमुकाम दैलेखबजारमा विरोधसभा सम्पन्न गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिका उपाध्यक्ष कमलविक्रम शाहीले सङ्घीयताको विकल्प राजतन्त्र नभएको बताउनुभयो । प्रतिगामी तत्त्वहरू सल्बलाइरहेका बेला सच्चा गणतन्त्रवादीहरू सचेत हुनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो । वर्तमान सरकारले जनताको पक्षमा प्रभावशाली प्रकारले काम गर्न नसकेको बताउँदै नेता शाहीले यो परिस्थितिको फाइदा उठाउन प्रतिगामी तत्त्वहरू उद्यत रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा (मसाल) दैलेखका प्रवक्ता सुरतबहादुर रावल र राष्ट्रिय जनमोर्चा दैलेका जिल्ला अध्यक्ष अम्बरबहादुर नेपालीले पनि सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन नरबहादुर सिंहले गर्नुभएको थियो ।
