धुलिखेल । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम सुरु भएको दाबी गर्नुभएको छ ।
काभ्रेपलान्चोकको बनेपा नगरपालिका–३ स्थित नेकपाका जिल्ला नेता प्रेमप्रसाद सिग्देलको श्रद्धाञ्जली सभालाई आज सम्बोधन गर्दै उहाँले आफ्नै पार्टीका नेताद्वारा विरोधमा लगाइएको प्रमाण फेला परेकोसमेत बताउनुभयो ।
“कार्यक्रममा जाँदा पार्टीभित्रैका नेताले अर्को पार्टीको ‘खेताला’ खोजेर विरोधमा लगाउने काम सुरु भएको प्रमाणसहित फेला परेका छन्” नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका बाँस्कोटाले भन्नुभयो– “यसो भएपछि बाहिर एकताको हल्ला चलाएर भित्र विभिजनको तयारी गर्नुको कुनै तुक छैन, यदि त्यस्तो हो भने सिधै भन्नुपर्छ, अब मिल्न सकिएन ।”
आफूहरु जोखिममा जान नचाहेकाले व्यक्तिगत लाभहानीमा पार्टी विभाजन गर्न नहुने उहाँको तर्क थियो । (रासस)