जुमानसिंह केसी/प्युठान ।
राष्ट्रिय जनमोर्चाले देशब्यापी आयोजना गरेको प्रतिगमनको खतरा र सङ्घीयता विरुद्धको विरोध कार्यक्रम प्युठानमा पनि सम्पन्न भएको छ । ‘गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, सङ्घीयता र भ्रष्टाचारको विरुद्धमा सङ्घर्ष गरौँ’ भन्ने नाराका साथ बिहीबार खलङ्गामा विरोध सभाको आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजमो लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले वर्तमान सरकारका कारण राजावादी र विदेशी शक्तिले चलखेल गरिरहेको भन्दै सरकार जनताबाट नाङ्गिँदै गएको आरोप लगाउनुभयो ।
उहाँले केन्द्रदेखि स्थानीय तहसम्म भ्रष्टाचार मौलाउँदै जाँदासमेत सरकार करबाही गर्न त परै जाओस्, उल्टो ढाकछोप गर्न लागेको बताउनुभयो । देशमा जबर्जस्त लागु गरिएको सङ्घीयताले अब हावा खान उहाँको भनाइ थियो ।
नेकपा (मसाल) का जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपानेले सही नीति र विचारले मात्रै देश अगाडि बढ्ने भन्दै मसालको नीति र विचारमा सबै गोलबन्द हुन सबैमा अपिल गर्नुभएको थियो । साथै उहाँले पार्टी ठुलो हुँदैमा विकास हुने भए नेकपा नेतृत्वको सरकार किन असफल भएको भन्दै प्रश्न गर्नुभयो ।
उहाँले सही राजनीतिक विचार, दृष्टिकोणले मात्रै देश अगाडि बढ्ने उल्लेख गर्दै अहिले देश अत्यन्तै सङ्कटमा पर्दै गएको र देशी विदेशी प्रतिक्रियावादी शक्ति हावी हुन लागेकोले सबै देशभक्त नेपाली एक हुनुपर्ने बताउनुभयो ।
जिल्ला अध्यक्ष कृष्ण खड्काको अध्यक्षता र सहसचिव लालबहादुर राउतले सञ्चालन गर्नु भएको कार्यक्रममा जिल्ला सदस्य टीका जिसीले स्वागत गर्नुभएको थियो ।