बर्दिया । राष्ट्रिय जनमोर्चाप्रति देशब्यापीरुपमा युवाहरुको आकर्षण बढ्दै गएको छ । विभिन्न पार्टीमा सक्रिय रहेका तथा स्वतन्त्ररुपले बसेका युवाहरु देशका विभिन्न ठाउँबाट राजमोमा प्रवेश गरिरहेका छन् ।
यसैक्रममा बर्दियामा नेकपामा सक्रिय रहेका दर्जनौं कार्यकर्ताहरु राजमोमा प्रवेश गरेका छन् । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १ का कर्णबहादुर शाही, गोपि थारू, जगतबहादुर बुढा, नरेश थारु, बसन्त बोहरा, भक्त बहादुर राउत, भिमबहादुर राउत, रावल राउत, टेकबहादुर रावललगायतका युवाहरु राजमोका प्रवेश गरेका हुन् ।
नवप्रवेशी युवाहरुलाई एक कार्यक्रमको आयोजना गरी अखिल नेपाल किसान महासंघका महासचिव तुल्सी सापकोटा र राजमो बर्दियाका नेता रतनसिंह रावतले राजमोको सदस्यता प्रदान गरी पार्टीमा स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा युवाहरुले सत्तारुढ नेकपाले आधारभुत रुपमै कम्युनिष्ट सिद्धान्त र आचरण छोडेको, भागबण्डा र सत्तास्वार्थका लागि देशलाई बन्धक बनाएको तथा राष्ट्रियता र जनताका समस्यालाई तिलाञ्जली दिएको भन्दै राष्ट्रिय जनमोर्चा नै जनताको आफ्नो पार्टी भएको बताएका थिए ।
उनीहरुले नेकपालगायत पार्टीमा बसेर जनताविरुद्धका नीतिहरुलाई साथ दिन भन्दा देश र जनताको पक्षमा सधैँ निस्वार्थ ढंगले संघर्ष गरिरहेको राजमोमा गोलबद्ध हुन युवाहरुलाई आह्वान गरेका छन् ।