पुष्कर भट्ट, कञ्चनपुर ।
राष्ट्रिय जनमोर्चा कञ्चनपुरले संघीयता खारेजीको माग गर्दै आज झलारीमा जुलुस सहित विरोध सभा सम्पन्न गरेको छ । ‘संघीयता खारेज गरियोस्, कोरोना भाइरसका विरुद्ध प्रभावकारी कदम चालियोस्’ भन्ने नाराका साथ गरिएको विरोध सभामा राजमोका केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, जिल्ला अध्यक्ष राम बहादुर कार्की, तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, जातीय समता समाजका महासचिव गोबिन्द बिक, नेकपा (मसाल) का जिल्ला प्रवक्ता लक्ष्मी दत्त बडु लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
त्यस क्रममा वक्ताहरुले संघीयता देशका लागि अभिषाप भएको भन्दै खारेजीमा जोड दिनुभएको थियो । उहाँहरुले कर्मचारी र जनप्रतिनिधि भ्रष्टाचारमा लिप्त भएकोले देशमा कुशासन ल्याएको आरोप पनि लगाउनुभयो ।
विरोध कार्यक्रममा राजमोका जिल्ला सचिवालय सदस्य लालबहादुर कुँवर, रक्तिम सांस्कृति अभियानका जिल्ला अध्यक्ष लालित चन्द लगायत नेताहरुको उपस्थिती रहेको थियो ।
राजमो जिल्ला उपाध्यक्ष मन्जु परियारले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव अहिमान थापा तथा स्वागत शुक्लाफाँटा नगर समितिका अध्यक्ष टुङे बोहराले गर्नुभएको थियो ।
कैलालीमा पनि विरोध सभा
यता, कैलाली जिल्लाको लम्किमा पनि संघीयता खारेजीको माग गर्दै राजमो कैलालीले विरोध सभा सम्पन्न गरेको छ ।
विरोध सभालाई राजमोका केन्द्रीय सदस्य तथा सूदुर पश्चिम प्रदेश ईन्चार्ज मनोज भट्ट, राजमोका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्ट, अखिल नेपाल युवक संघका महासचिव कृष्ण पाण्डे, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य हरिकष्ण पाण्डे, राजमो जिल्ला अध्यक्ष दयाराम सन्ज्याल, जातीय समता समाजका नेता तिलक परियार लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

डोटीमा विरोध सभा
यता, राष्ट्रिय जनमोर्चा डाटीले पनि आइतबार दिपायलमा विरोध सभा सम्पन्न गरेको छ । विरोध सभालाई राजमो सुदूरपश्चिम प्रदेश कोषाध्यक्ष तथा डोटी जिल्ला सचिव केशवनाथ योगी र अखिल नेपाल युवक संघका केन्द्रीय सचिव प्रशान्त थापा लगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
