टेकराज भुसाल, बुटवल ।
अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर केसीले संघीयतामा धान्न अनावश्यक खर्च गर्नुपर्दा कोरोना भाइरसको उपचार हुन नसकेको आरोप लगाउनु भएको छ ।
राष्ट्रिय जनमोर्चा रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै केसीले प्रदेश सरकारका मन्त्री, सांसद र कर्मचारीहरुको तलब भत्तामा मात्रै करोडौं करोड रकम खर्च भइरहेको भन्दै त्यो रकम जोगाउन संघीताको खारेज गर्नुपर्ने बताउनुभयो । उहाँले संघीयतामा खर्च भएको अनावश्यक रकम कोरोना उपचार तथा राहत र पुनरउत्थान तथा अन्य विकास निर्माणमा लगाउन सरकारलाई अनुरोध गर्नुभयो ।
संघीय संरचनाको खारेजी, कोरोनाको प्रभावकारी उपचार, भ्रष्टाचार नियन्त्रण, अतिक्रमित भूभाग फिर्ता गर्नुपर्ने लगायतका माग राखि राष्ट्रिय जनमोर्चाले आयोजना गरेको देशब्यापी कार्यक्रम अन्तर्गत बुटवलमा विरोध सभमाको आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष बद्रे आलमले भारतीय तथा युरोपेली साम्राज्यवादहरुले नेपालमा आफ्नो प्रभुत्व जमाउनका निम्ति संघीयता प्रवेश गराएको आरोप लगाउँदै संघीयता खारेजीका लागि सम्पूर्ण जनताहरु एकजुट हुनुपर्ने बताउनुभयो।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका कोषाध्यक्ष गणेश गौतम, अखिल नेपाल महिला संघ रुपन्देहीकी कोषाध्यक्ष लक्ष्मी कुँवर,अखिल (छैठौं) रुपन्देहीका अध्यक्ष सरोजमान सिंह लगायत नेताहरुले प्रदेशका मन्त्री, सांसद र कर्मचारीलाई पाल्दा देशको अर्थतन्त्र ध्वस्त भएकोले विकास निर्माणका कार्यहरु तिब्र गतिमा हुन नसकेको भन्दै विकास निर्माणका कार्यलाई तिव्र गति सञ्चालनमा ल्याउनका निम्ति पनि प्रदेश सरकार घाँडो भएकोले यसको खारेजीको लागि सम्पूर्ण जनताहरु सडकमा उत्रिनु पर्ने बताउनु भयो।

राजमो रुपन्देहीका उपाध्यक्ष इन्दिरा ज्ञवालीको अध्यक्षता, जिल्ला सचिव टान बहादुर केसीको सञ्चालन र जिल्ला कोषाध्यक्ष कृष्णप्रसाद पोख्रेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो।
