बाग्लुङ । ढोरपाटन शिकार आरक्षमा शिकार खुला भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार यस याममा सात नाउर र पाँच झारलको शिकार गरिनेछ ।
विभागले अघिल्लो महीना शिकारका लागि पेशेवर शिकारी अनुज्ञापत्र प्राप्त कम्पनीबाट सिलबन्दी दरभाउपत्र आह्वान गरेको थियो । दश नाउर र छ झारलको कोटा रहे पनि शिकारको माग कम आएको विभागले जनाएको छ । शिकार कम्पनीबीच विद्युतीय बोलपत्रमा प्रतिस्पर्धा नभएपछि यसपालि राजश्व दर पनि घटेको छ ।
शिकार कम्पनीले एउटा नाउर शिकारको एक लाख ९० हजार रुपैयाँ राजश्व तिरेको व्यवस्थापन शाखाका सहायक व्यवस्थापक अधिकृत सन्तोष भगतले बताए । झारल शिकारको राजश्व त्योभन्दा अझै कम छ ।
अघिल्लो शिकार याम (फागुन–वैशाख)मा एउटा नाउर शिकारको राजश्व रु तेह्र लाख ५१ हजार र झारल शिकारको रु तेह्र लाख ५० हजार राजश्व पुगेको थियो । शिकारको माग बढी हुँदा राजश्वको दर पनि बढ्ने र माग घट्दा राजश्व घट्ने हुन्छ । अहिले प्रतिष्पर्धा कम भएकोले राजश्व कम भएको हो ।
यस यामका लागि बोलपत्र प्रक्रियाबाट छानिएका शिकार कम्पनीले पेशेवर विदेशी शिकारीलाई आरक्षमा पठाउने तयारी गरेका छन् । शिकारका लागि रुस, अमेरिका, क्यानाडा, नर्वे, जर्मनीलगायत देशबाट तालिमप्राप्त शिकारी ढोरपाटन आउने गरेका छन् ।
सौखिन र खर्चिला विदेशी शिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । एउटै शिकारीले रु ३० लाखदेखि रु ३५ लाखसम्म शिकारमा खर्चने गरेको बताइन्छ । शिकारी हेलिकप्टरबाट आरक्षमा पुग्ने गर्छन् ।
