डबल बोगटी, धनगढी ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज मनोज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले थप दुई वर्ष सत्ता टिकाउन भारतसँग भिख मागिरहेको आरोप लगाउनुभएको छ । आइतबार धनगढीमा आयोजित २२ संगठनको विरोध प्रदर्शनका क्रममा बोल्दै नेता भट्टले आफ्नो सत्ता जोगाउन ओली जस्तोसुकै सम्झौता गर्न पनि तयार भएको बताउनुभयो ।
सत्ताच्युत हुने डरले आफ्नै भूभाग समेटेर बनेको नक्सा विरुद्ध प्रधानमन्त्री ओलीले मोदीसँग गोप्य साँठगाँठ गरेको नेता भट्टको आरोप छ । सोही कारण उनले कालापानीको मुद्दा छोडेको र अतिक्रमित भूमि समेटिएको पुस्तक पठनपाठनमा रोक लगाएको बताउनुभयो ।
‘यदी ओलीले सत्ता जोगाउन भारतसँग साँठगाँठ गरे भने उनी दुई वर्षपछि भोट माग्न जनताको बिचमा आउनु पर्दैन ? के उनलाई फेरि मोदीले भोट दिएर सत्तामा पुर्याउँछ ?’ भट्टले प्रश्न गर्नुभयो, ‘यदी सत्ताकै लागि राष्ट्रियतामाथि ओलीले खेलवाड गरिरहे भने ठुलो मूल्य चुकाउनुपर्नेछ ।’
नेता भट्टले सत्तारुढ दलको घर झगडाले नेपाली जनता वाक्क दिक्क भइसकेको बताउनुभयो । उहाँले ओली र प्रचण्डबीचको झगडामा जनताको एजेण्डा कहिल्यै नभएको बरु सत्ताकै भागबण्ड मात्रैको झगडा भएको बताउनुभयो ।
‘पहिले पहिले केटी खोज्न जाँदा सात जोर जुत्ता फाट्थ्यो रे । तर, अहिले जुत्ता फटाउन पर्दैन । केटाकेटीसँग मोबाइल हुन्छ, त्यसैले बिहेको छिनोफानो गरिहाल्छ’ भट्टले ओली प्रचण्डलाई व्यंग्य गर्दै भन्नुभयो, ‘तर अहिले बालुवाटार धाउँदा धाउँदै प्रचण्डको सात जोर जुत्ता फाटिसके । उनीहरुको झगडा भनेको तँ प्रधानमन्त्री बनिसकिस्, म कहिले बन्ने ? तेरा यति मान्छे मन्त्री बने, मेरा खोई ? तेरा यति राजदूत र न्यायाधीश छन्, मेरो खोइ ? यस्तै विषय हुन् ।’

राजमो नेता भट्टले अहिले पनि हजारौं नेपाली युवा झोला बोकेर भारतका गल्लीमा भौतारिहेको बताउनुभयो । उनीहरुको रोजगारी, शिक्षाको समस्या, कोरोनाबाट पीडित जनताको उपचार कहिल्यै पनि सत्ताधारीको एजेण्डा नबनेको बरु कसरी भ्रष्टाचार गर्ने र सत्ताको छिनाझपटीमै समय बितेको बताउनुभयो ।
फरक प्रशंगमा उहाँले राजनीतिक दलको विकल्प राजतन्त्र हुन नसक्ने बताउनुभयो । उहाँले राजतन्त्रको सपना नदेख्न राजावादीहरुलाई चेतावनी पनि दिनुभयो ।
‘जनताको भाग्य र भविष्यको फैसाल गर्ने जिम्मा जनताबाट गलहत्याइएका ज्ञानेन्द्र वा उनका छोरा ट्यापे पारसलाई दिन सकिँदैन न त सिंगापुरमा बसेर टिकटक बनाउने नातिनीहरुलाई हाम्रो भाग्य र भविष्यको फैसला गर्न दिन सकिन्छ । त्यसले २÷४ लिटर पेट्रोल हालेर बाइकमा राजा आउ देश बचाउ भन्दै राजतन्त्रको सपना नदेखे हुन्छ ।’

कार्यक्रममा कैलालीमा क्रियाशील पाँच दलका नेता कार्यकर्ताहरु सहभागि थिए । धनगढीको पार्कमोडबाट जुलुस सुरू भई ट्राफिक चौराहामा पुगि कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई नेकपा (मसाल) का कैलाली जिल्ला प्रवक्ता मिलन शाही, समाजवादी राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष देविदत्त पाण्डे, नेकपा (संयुक्त) का मोहनदेव मिश्र, नेकपा माओवादी केन्द्रका जगत आउजी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष विष्णु नेपाली, नेकपा मालेका केन्द्रीय सदस्य परेक रावल, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य रामबहादुर केसीले पनि सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन कृष्ण बिकले गर्नुभएको थियो भने स्वागत नयाँ पार्टी नेपालका किसनराम लुहारले गर्नुभएको थियो ।
