काठमाडौं । अखिल नेपाल किसान महासंघले बिहीबार (कात्तिक २७ गते) देशभरका जिल्ला प्रशासन कार्यालय अघि धर्ना दिने भएको छ ।
सरकारले किसानलाई कुनै सहुलियत दिन नसकेको, रासायनिक मलको व्यवस्था गर्न नसकेको, उखु किसानले पुरानो भुक्तानी समेत नपाएको, कृषि उपजमा विचौलियाको विगविगी रहेको तथा किसानले आफ्नो उत्पादन उचित र सहज रुपमा विक्री वितरण गर्न नपाएको जस्ता माग राखि धर्ना दिन लागिएको हो ।
सो दिन एक घण्टा सबै जिल्लाका सीडीओ कार्यालय अघि धर्ना दिनुका साथै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइनेछ । यस्तै, कतिपय स्थानीय तहमा पनि धर्ना दिइने महासंघका अध्यक्ष भैरवराज रेग्मीले जानकारी दिनुभयो । त्यसक्रममा नाराजुलुश सहित किसानका आम समस्या तथा स्थानीय समस्यालाई समेत समेटेर माग पत्र बुझाइनेछ ।
यस्तै, चार किसान सङ्गठनको संयुक्त आन्दोलनको तयारी भइरहेको पनि अध्यक्ष रेग्मीले बताउनुभयो ।