काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको सचिवालयको बहुमत सदस्यहरुको बैठकले बिहीबार सचिवालय बैठक बस्न प्रस्ताव गरेको छ । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहभागी हुन आग्रह गरेको छ ।
बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अध्यक्ष बिहीबार राख्ने बैठकमा सहभागिताका लागि प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीलाई पुनः आग्रह गर्ने निर्णय गरेको हो । भोलि बुधबार प्रधानमन्त्री ओलीको काठमाडौंबाहिर कार्यक्रम रहेका कारण पर्सी बिहीबारका लागि बैठक प्रस्ताव गरिएको उनले बताए ।
ओलीले हिजोसम्म र आज मंगलबार प्रचण्ड भेट्न जाँदा समेत बैठकका लागि सहमति नजनाएको श्रेष्ठले बताए । उनले आफूहरुबाट पटक पटक गरिएको अनुरोधलाई कमजोरी नठान्न समेत आग्रह गरेका छन् ।
पार्टी कार्यालय धुम्बाराहीमा भएको सो बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए । धुम्बाराहीको सो बैठकमा जानुअघि पनि प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए ।
भदौ २६ को स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन नभएपछि दुई अध्यक्ष ओली र प्रचण्डबीच शक्तिसंघर्ष जारी छ। नौ सदस्य रहेको सचिवालयमा कार्यकारी अध्यक्ष प्रचण्डलाई वरिष्ठ नेता खनाल र नेपाल, उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठले साथ दिँदै आएका छन्।
अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री तथा महासचिव बिष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापाको सहयोग रहँदै आएको छ ।
