काठमाडौं । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन हुँदैछ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ राष्ट्रपति विद्यादेवी भण्डारीले पहिला रानीपोखरी र त्यसपछि दरबार हाइस्कुलको उद्घाटन गर्ने कार्यक्रम छ ।
मल्लकालीन शैलीमा रानीपोखरीको पुनःनिर्माण नेपाल सरकारले गरेको हो भने दरबार हाइस्कुलको पुनः निर्माण छिमेकी चीनको सहयोगमा भएको हो । विसं. २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनः निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ ।

वास्तुकलाविद् सुदर्शनराज तिवारीका अनुसार रानीपोखरीमा तीन तह छन् । त्यसमध्ये पहिलो तहमा ३ करोड लिटर पानी लाग्छ । माथिल्ला दुई तहमा ९ करोड लिटर पानी अट्छ । पोखरीको लम्बाइ १ सय ८० र चौडाइ १ सय ४० मिटर छ । पुनर्निर्माणका लागि २७ करोड रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ ।
रानीपोखरी प्रताप मल्लले विसं १७२७ मा बनाएका हुन् । छोराको मृत्युको शोकमा डुबेकी रानीलाई भुलाउन बनाएकाले यसलाई शोकको प्रतीकसमेत मानिन्छ ।