काठमाडौं । तीन वर्षदेखि उखुको भुक्तानी माग गर्दै आएका नवलपरासीका उखु किसान यो दशैँमा पनि निराश बनेका छन् । उखुको भुक्तानी पाइएला र दशैँ खर्च चलाउँला भन्दै आशामा बसेका गरेका भुक्तानी नपाएपछि मर्कामा परेका हुन् ।
नवलपरासीमा बागमती खाडसारी चिनीमिल, ईन्दिरा सुगर ईण्डष्ट्रिज, लुम्बिनी चिनी मिल गरी तीन ठूला चिनी मिल सञ्चालनमा छन् । गत वर्ष बागमतीबाहेक ईन्दिरा र लुम्बिनी चिनी मिलले मिल नै सञ्चालन गरेनन् ।
बागमती चिनी मिलले क्रमशै उखुको भुक्तानी गरेपनि विगत तीन वर्षदेखि लुम्बिनी र ईन्दिरा सुगर मिलले किसानहरुलाई भु्क्तानीमा आलटाल गर्दै आएका छन् । उखु किसानहरुले इन्दिरा सुगर मिलबाट ८ करोड, लुम्बिनी चिनीमिलबाट १० करोड गरि अझै १८ करोड रुपैयाँ भुक्तानी पाउन पर्नेछ ।
ती मिल सञ्चालकहरु विभिन्न बहानामा भुक्तानी गर्न आलटाल गर्दै आएको उखु उत्पादक कृषक संघका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो । तीन वर्षदेखि भुक्तानी दिन आलटाल गरिरहेका उनीहरुले यस वर्ष बन्दाबन्दी, लकडाउन, कोरोना लगायतको बहाना बनाइरहेका यादवको गुनासो छ ।
सरकारले उखुको समर्थन मूल्य ५३६ रुपैयाँ प्रति क्वीन्टल तोकेपनि मिलहरु सो मूल्य तिर्न तयार नरहेकाले भुक्तानीमा थप ढिलाइ भैरहेको संघले जनाएको छ ।
वर्षौंसम्म आफ्नो उत्पादनको मूल्य नपाउँदा घरखर्च चलाउनै मुश्किल भएको किसानको गुनासो छ । साथमा पैसा नहुँदा अब चाडपर्व कसरी मनाउने भन्ने चिन्ता पनि थपिएको छ । उखु मिलहरुको शोषण र सरकारको वेवास्ताका कारण उखु किसानहरु विस्तारै उखु खेतिबाटै विमुख हुन थालेका छन् ।