काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज विभिन्न ६ जिल्लाका केही स्थानमा विद्युत् कटौती गरेको छ । काठमाडौं उपत्यकासहित ६ जिल्लाका विभिन्न स्थानमा विहान ७ बजेदेखि नै विद्युत कटौती गरिएकोमा साँझ ५ बजेमात्रै आउने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले प्रकाशन गरेको सूचनाअनुसार आज काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानसहित काभ्रे, सुनसरी र धनकुटामा विद्युत कटौती भएको हो ।
जसअनुसार सुनसरीको धरान तथा इटहरीका विभिन्न क्षेत्रमा अहिले बिजुली छैन । ती स्थानमा दिउँसो ३ बजे मात्रै विद्युत् सञ्चालन हुनेछ।
यस्तै धनकुटाका विभिन्न क्षेत्रमा पनि बिहान ७ बजेदेखि नै विद्युत कटौती गरिएको छ भने त्यहाँ अब साँझ ५ बजे मात्रै विद्युत् आउने प्राधिकरणले जनाएको छ।
यस्तै काभ्रेमा अहिले बिहान ९ बजेदेखि तथा काठमाडौंको जोरपाटी वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बिहान १० बजेदेखि विद्युत कटौती हुने प्राधिकरणको सूचनामा उल्लेख छ। यस क्षेत्रमा विद्युत साँझ ५ बजे मात्रै आउने प्राधिकरणले जनाएको छ।
यस्तै पुल्चोक, कुलेश्वर र लगनखेल वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा अहिले बिहान ११ बजेदेखि विद्युत् कटौती हुने प्राधिकरणले सूचनामार्फत जानकारी दिएको छ।