काठमाडौं । नविल बैंक लिमिटेडले सञ्चालक समितिको अध्यक्षमा उपेन्द्र पौड्याललाई नियुक्त गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले पौड्याललाई अध्यक्ष नियुक्त गरेको बैंकले जनाएको छ ।
नबिल बैंक लिमिटेडका अध्यक्ष शम्भु प्रसाद पौड्यालको कार्यकाल सकिएसँगै उपेनद्र पौड्याल अध्यक्ष बनेका हुन् । सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका निवर्तमान अध्यक्ष शम्भु प्रसाद पौड्याल र सदस्य दयाराम गोपाल अग्रवालको चार वर्षे कार्यकाल यही असोज १७ गते सकिएको हो ।
२०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याल पछिल्लो समय एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधि समेत रहेका छन् ।
तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उनी यसअघि एनएमबी बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए ।





