काठमाडौं । महेन्द्रनगरस्थित महाकाली सिंचाई आयोजना तेस्रो चरणका आयोजना निर्देशक प्रचण्डदेव बिष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
बिष्टलाई काठमाडौंको सुन्धारास्थित एक होटलबाट स्रोत नखुलेको ११ लाख रुपैयाँसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । बिष्ट सुन्धारास्थित इसन होटलमा एक युवतीसँग भेटिएका प्रहरीले जनाएको छ । होटलमा राति होहल्ला भैरहेको गुनासो स्थानीयले गरेपछि प्रहरी टोली त्यहाँ पुगेको थियो ।
अश्वभाविक रुपमा ठूलो रकम फेला पारेपछि प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खबर गरेको थियो । आयोगको टोलीले ११ लाख रुपैयासहित बिष्ट र युवतीलाई नियन्त्रणमा लिएको थियो । युवतीलाई बिहीवार बिहान छाडेपनि बिष्टलाई भने अख्तियारको हिरासतमा राखेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले बिष्टलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे जानकारी दिनुभएकाे छ ।