काठमाडौँ । नेपालको एक मात्र रेलवे जयनगर–जनकपुर रेल्वेमा भ्रष्टाचारको गन्ध महसुस गर्न थालिएको छ । इन्जिनियर सूर्यराज आचार्यले त्यही रेलको मूल्य भारतमा १३ करोडजति (नेपालमा नेरु २०.८ करोड नेरु) भएकोमा नेपालमा करबाहेक ४२ करोड नेरु कसरी पर्यो भनी प्रश्न उठाएका छन् ।
इन्जिनियर आचार्यले ट्विट गरेका छन्– “आज जनकपुर आइपुगेको दुई इन्जिन डिब्बासहित पाँच डिब्बाको रेलको मूल्य नेरु ४२ करोड (करबाहेक) । भारतमा यही मोडेलको दुई इन्जिन डिब्बासहित दश डिब्बाको रेलको मूल्य भारु १३ करोड (नेरु २०.८ करोड) । निकै फरक परेछ, किन होला ?”

उनले ट्विटमा रेलको उक्त मूल्यसम्बन्धी जानकारी दिइएको जुलाई १४, २०१७ को वेबसाइट इन्डिया डट कमको लिङ्कसमेत राखेका छन् । उक्त लिङ्कमा वातावरणमैत्री भनिएको उक्त एचएचपी १६०० सोलार डेमू रेलको बारेमा चर्चा गरिएको छ ।
यता, गत शुक्रवार जनकपुरमा प्रदर्शन गरिएको उक्त रेल भारततिर फर्किएको छ । दुई ड्राइभर, दुई जना सहायक ड्राइभर र १६ जना थप कर्मचारीसहित आएको भारतको कोकण रेलवे कर्पोरेसनको सो रेल शनिवार भारततिरै फर्किएको हो । नेपालमा रेल सञ्चालनका लागि आवश्यक कर्मचारी, रेलवेसम्बन्धी कानुन र अन्य समस्या देखाउँदै रेल भारततिरै फर्किएको बताइएको छ ।
हेर्नुहोस समाचारको लिङ्क
Railways Launches India’s First 1600 HHP Solar DEMU Train