काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्ति हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री वर्षमान पुनबीच भएको भेटमा कुलमानलाई दोस्रो कार्यकालका लागि पुनः नियुक्ति गर्ने सहमति भएको हो ।
मन्त्री पुनका प्रेस संयोजक दयानिधी भट्टले फेरि एक कार्यकालका लागि कुलमान घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री ओली तयार भएको जानकारी दिँदै भोलि (आइतबार) वा सोमबार बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय गर्ने जानकारी दिनुभयो ।
कुलमानको पहिलो चार वर्षे कार्यकाल भोलि आइतबार पूरा हुँदैछ । त्यसैले सम्भवतः भोलि नै मन्त्रिपरिषदले कुलमानलाई पुनः नियुक्त गर्नेछ।
कार्यकारी निर्देशक भएपछि कुलमानले लोडसेडिङ हटाएर देशलाई उज्यालो बनाउन र ठूलो घाटामा चलिरहेको प्राधिकरणलाई नाफामा लैजान नेतृत्वदायी भूमिका खेल्नुभएको थियो ।
कुलमानको कार्यकाल सकिनै लाग्दा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उहाँको पुनर्नियुक्तिका लागि दबाब दिँदै आएका छन् । प्राधिकरणमा कुलमानबाहे अरु कर्मचारी कार्यकारी निर्देशक बनेर आएमा पुनः लोडसेडिङको समस्या खेप्नुपर्ने आम मानिसको चिन्ता देखिन्छ।