काठमाडौं । सरकारले आगामी असोज १५ भित्र आन्तरिक उडान खोल्ने गरी तयारी थालेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले असोज १५ गते भित्रमा आन्तरिक उडानलाई खोल्ने तयारी भइरहेको जानकारी दिनुभएको हो ।
बिहीबार आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको पर्यटन क्षेत्रका सरोकारवालाहरुसँगको भर्चुअल मिटिङमा बोल्दै मन्त्री भट्टराईले पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै लैजानका लागि आन्तरिक उडान खोल्ने तयारी भइरहेको जानकारी दिनुभयो । पहिलो चरणमा उच्च पहाडी र पहाडि जिल्लामा २५ प्रतिशत उडान अनुमति दिएर आन्तरिक उडान सुरु गर्न लागिएको उहाँले बताउनुभयो ।
यस्तै पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय बजारमा पहुँच स्थापना गर्न पर्यटन बोर्डलाई विभिन्न मुलुकमा सेलहरु निर्माण गरेर काम गर्न निर्देशन दिइसकेको समेत मन्त्री भट्टराईले बताउनुभयो ।
मन्त्री योगेश भट्टराईले हिमाल आरोहण र पदयात्रा खुला गर्न सीसीएमसीमा प्रस्ताव पठाएको बताएका जानकारी दिनुभयो । कोभिड १९ संक्रमणको कारण लामो समय लकडाउन हुँदा पर्यटन क्षेत्र पूर्णरुपमा बन्द भएकोले यसलाई खुला गर्न पहिलो चरणमा कम वस्ती भएका क्षेत्रमा पदयात्रा गर्न र हिमाल आरोहण गर्न सीसीएमसीमा प्रस्ताव पठाएको बताउनुभएको हो ।
नेपालको पर्यटन क्षेत्रमा करिब १५ खर्ब रुपैयाँ लगानी रहेको छ । झण्डै १० लाख मानिसहरुले रोजगारी पाएका छन् । तर कोभिड १९ संक्रमणका कारण अधिकांशले रोजगारी गुमाइसकेका छन् भने देशको अर्थतन्त्रमा ठूलो नोक्सानी भइसकेको छ ।
त्यसैले सरकारले अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना सहित पर्यटन क्षेत्रलाई तत्काल सूचारु गर्नुपनेमा सरोकारवालाहरुले जोड दिएका छन् ।