काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जानेहरुका लागि श्रम स्वीकृति खोलेको छ । बुधबार वैदेशिक रोजगार विभागले श्रम स्वीकृति खुल्ला गरेको जानकारी गराएको हो ।
विभागका अनुसार २०७६ फागुन २९ गते पहिले मागपत्र प्रमाणित भएर पूर्व स्वीकृति लिएकाको हकमा अन्तिम स्वीकृति लिनका लागि विदेशका रोजगारदाताको नो अब्जेक्सन प्रमाण पत्र आवश्यक पर्नेछ । यस्तो प्रमाण पत्र हालै जारी भएको र सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाट प्रमाणित गराएर पेश गर्नु पर्नेछ ।
यस्तै, पूर्व स्वीकृति लिने प्रक्रियामा रहेका र नयाँ माग पत्रको हकमा नो अब्जेक्सन प्रमाण पत्र पेश गर्नु पर्नेछ । नयाँ व्यक्तिगत श्रम स्वीकृति लिनका लागि रोजगारदाता कम्पनीले आधिकारिक इमेलबाट हालै जारी भएको नो अब्जेक्सन लेटर वैदेशिक रोजगार कार्यालयको इमेलमा पठाउनु पर्नेछ ।
सरकारले गएको फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा श्रम स्वीकृति दिन बन्द गरेको थियो ।
