काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।





