वासिङ्टन, १७ कात्तिक । इरानसँग आठ महिनादेखि जारी द्वन्द्व अन्त्य गर्न वार्तामा प्रगति भइरहेको सङ्केत अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दिइरहेका बेला अमेरिकाले सोमबार इरानको केशम टापुमा आक्रमण गरेको वाल स्ट्रिट जर्नलले जनाएको छ ।
जर्नलले नाम नखुलाइएका अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै हर्मुज जलघाँटीको सबैभन्दा ठूलो टापु केशममा गरिएको आक्रमण पछिल्ला साताहरूमा अमेरिकाले इरानविरुद्ध गोप्य रूपमा गर्दै आएका सीमित आक्रमणको शृङ्खलामध्येको पछिल्लो घटना भएको उल्लेख गरेको छ ।
इरानको सरकारी समाचार संस्था इरनाका अनुसार टापुमा छोटो समयभित्र पाँचवटा विस्फोटको आवाज सुनिएको थियो । केही स्थानीय बासिन्दाले आकाशमा दुईवटा विमान उडिरहेको देखेको पनि बताएका थिए ।
रिपोर्ट गरिएको आक्रमणबारे अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेन्ट्रल कमान्डसँग प्रश्न पठाएको थियो । तर, सोमबार अबेरसम्म सेन्ट्रल कमान्डले एएफपीको टिप्पणीका लागि गरिएको अनुरोधको तत्काल जवाफ दिएको थिएन ।
वाल स्ट्रिट जर्नलका अनुसार अमेरिका केही सातादेखि इरानविरुद्ध सीमित स्तरका आक्रमणमा संलग्न रहँदै आएको छ । केही अमेरिकी अधिकारीले ती आक्रमणलाई रक्षात्मक प्रकृतिको बताएका छन् । उनीहरूका अनुसार यसको उद्देश्य इरानलाई हर्मुज जलघाँटीमा व्यापारिक जहाजमाथि आक्रमण गर्ने स्वतन्त्रता प्राप्त गर्नबाट रोक्नु हो ।
हर्मुज जलघाँटी तेल ढुवानीको प्रमुख मार्ग हो। फेब्रुअरीको अन्त्यमा युद्ध सुरु भएदेखि यस मार्गमा अवरोध उत्पन्न भएको छ । जर्नलले अमेरिकाले आक्रमणबारे सार्वजनिक रूपमा घोषणा नगरेको उल्लेख गर्दै यसबाट प्रमुख सैन्य कारबाही पुनः सुरु गर्ने मनसाय रहेको सङ्केत नदिएको जनाएको छ ।
यसैबीच, अमेरिकामा मध्यावधि निर्वाचन हुनुभन्दा एक दिनअघि सोमबार राष्ट्रपति ट्रम्पले इरानसँग सम्झौता हुन सक्ने बताउनुभएको थियो । द्वन्द्व अन्त्य हुने सम्भावनाबारे उहाँले सकारात्मक सङ्केत दिनुभए पनि केशम टापुमा भएको आक्रमणले क्षेत्रीय तनावको अवस्थालाई पुनः चर्चामा ल्याएको छ ।
इरानले हर्मुज जलघाँटीको ऊर्जा आपूर्ति मार्गमा अवरोध गरेपछि तीव्र रूपमा बढेको तेलको मूल्य सोमबार भने द्वन्द्व अन्त्य हुन सक्ने आशासँगै सात प्रतिशतभन्दा बढीले घटेको समाचारमा उल्लेख छ ।





