जगतप्रसाद रेग्मी ##
पार्टीसङ्गठन एउटा निश्चित उद्देश्य लिएर निर्माण गरिएको हुन्छ । सबै सङ्गठनका उद्देश्य एउटै हुने गर्दैनन् । आफ्नो लक्ष्य के छ ? त्यो प्राप्तिका लागि त्यही खालको संरचना बनाउने र परिचालन गर्ने गरिन्छ । सुरुमा पार्टीले आफ्नो नीति तय गर्ने गर्दछ र त्यसको कार्यान्वयनका लागी त्यही प्रकारको सङ्गठन आवश्यकता पर्दछ ।
सङ्गठनको मुख्य काम भनेको नै पार्टीले तय गरेको नीतिलाई जनताको बिचमा स्थापित गर्नु हो । मूल रूपमा संसारमा चलेका दुईटा सङ्गठनात्मक प्रणाली वा सङ्गठन परिचालन गर्ने पद्धति रहेको पाइन्छ : पहिलो– सामाजिक प्रजातन्त्रवादी प्रणाली हो भने दोस्रो लेनिनवादी सङ्गठनात्मक प्रणाली ।
सामाजिक प्रजातन्त्रवादी सङ्गठनात्मक प्रणाली
यो प्रणाली नै संसारका प्रजातन्त्रवादी पुँजीवादी पार्टीहरूले अवलम्बन गर्ने प्रणाली हो । यसको माध्यमबाट नै सबै प्रजातन्त्र पक्षधर पार्टीहरू परिचालन हुने गरेका छन् । सन् १९०३ मा रसियाली लोकतान्त्रिक मजदुर पार्टीको दोस्रो महाधिवेशनसम्म विश्वका कम्युनिस्ट पार्टीले पनि यही पद्धतिलाई अवलम्बन गर्दै आएका थिए । यो प्रणालीको मुख्य कडी भनेको नेताहरूले आफ्नो मन मिल्नेलाई एकत्रित गराएर गुट बनाउने र त्यसको आधारमा बार्गेनिङ गरी आफूले पदप्रतिष्ठा प्राप्त गर्ने गर्दछन ।
माक्र्स–एङ्गेल्सको बेला पनि यही प्रणाली थियो । त्यति बेला गुट बनाउने, पार्टीको नीति मन परे समर्थन गर्ने र मन नपरे विरोध गर्ने छुट थियो । पहिलो र दोस्रो अन्तर्राष्ट्रियमा पनि विभिन्न गुटको प्रतिनिधित्व थियो । वर्गसङ्र्घषलाई स्वीकार नगर्ने पु्रधोँदेखि अति उग्रपन्थी ब्लाङ्की र बाकुनिन हुँदै ठोस परिस्थितिको ठोस मूल्याङ्कन गरी वर्गसङ्घर्षलाई अगाडि बढाउने माक्र्स–एङ्गेल्स एउटै समितिमा रहेको इतिहास छ । अहिलेको अवस्थामा विश्वका वुर्जुवा पुँजीवादी पार्टी मात्र होइन, आफूलाई कम्युनिस्ट भन्नेहरू पनि यही पद्वतिबाट चलेको देखिन्छ ।
नेपालको हकमा पनि सामाजिक प्रजातन्त्रवादी सङ्गठनात्मक प्रणाली लागु हुन्छ । नेकपा (एमाले) र माओवादी अर्थात् अहिलेको नेपाली कम्युनिस्ट पार्टीलगायतका आफूलाई वामपन्थी भन्नेहरूभित्र आफ्नो गुट बलियो बनाउने, पार्टीले गरेका निर्णय माने पनि हुने, नमाने पनि हुने गरेको हुन्छ र गुटको आधारमा आफूले पदप्रतिष्ठा हासिल गर्ने गरिएको छ ।
यो पद्वतिले कम्युनिस्ट आन्दोलनलाई अनुशासित बनाउँदैन र सही गन्तव्यमा पुर्याउँदैन । त्यसका लागि सही अनुशासित नीति आवश्यक पर्दछ । पार्टीको सही नीति छ भने त्यसको कार्यान्वयनको लागि व्यवहार सही हुन जरुरी हुन्छ र त्यसका लागि सही सङ्गठनात्मक प्रणाली हुनु जरुरी हुन्छ । त्यही कुरालाई मध्यनजर गरेर लेनिनले नयाँ सङ्गठनात्मक पद्वतिको विकास गरे । त्यसलाई हामी लेनिनवादी सङ्गठनात्मक प्रणाली भन्ने गर्दछौँ ।
लेनिवादी सङ्गठनात्मक प्रणाली
पुँजीपति वर्गको हातमा भएको सत्तालाई परास्त गर्नको लागि सामान्य प्रकारको पार्टी र सङ्गठनले सम्भव हुँदैन । त्यसका लागि विशिष्ट अनुशासन आधारित एउटा मिलिटेन्ट पार्टीको निर्माण नभईकन सदियौँदेखि जकडिएर रहेको सत्ता अनि उसको रक्षाका लागि उभिएको सेना–पुलिससहितको पुरानो राज्यसत्तालाई परास्त गर्न सकिँदैन भन्ने कुरा लेनिनले महसुस गरेर कम्युनिस्ट पार्टीले निश्चित नियम, चरित्र र पद्धतिबाट सुसज्जित पार्टीले मात्र पुरानो सत्तालाई परास्त गर्न सक्छ । त्यसका लागि पार्टीसङ्गठनभित्र अनुशासन कायम गरिनुुपर्दछ भन्ने विचार अघि सार्नुभयो ।
तत्कालीन रसियाली प्रजातान्त्रिक मजदुर पार्टीको दोस्रो महाधिवेशनमा लेनिनले पार्टीको सङ्गठनसम्बन्धी नीतिसिद्वान्त पेस गर्नुभयो । सो प्रस्तावको मार्तोभ–प्लेखानोभजस्ता नेताबाट विरोध भयो । लेनिनले पार्टीसदस्यतासम्बन्धी प्रस्तावमा मुख्य रूपमा यी तीनोटा कुरालाई जोड दिनुभएको थियो ।
१) पार्टीको नीतिसिद्वान्त विचारलाई मान्नुपर्ने
२) पार्टीको कुनै न कुनै समितिमा बसेर क्रियाशील हुनुपर्ने
३) पार्टीलाई नियमित आर्थिक सहयोग गर्नुपर्ने
मार्तोभ र प्लेखानोभले पार्टीको कुनै न कुनै समितिमा बस्ने कुरामा असहमति व्यक्त गरे । यिनीहरूको भनाइमा लेनिनको नीति लागु गर्ने हो भने आमजनताको पाटी्र्र हुँदैन र यो एउटा झुन्डको पार्टी हुन्छ भन्ने थियो भने लेनिनले यो नीतिको आधारमा मात्र पार्टीले पुरानो सत्तामाथि विजय प्राप्त गर्न सक्छ भन्ने कुराको अडान रह्यो । अन्त्यमा लेनिनको प्रस्ताव झिनोले मतले पास भयो । त्यसपछि मार्तोभले पार्टीलाई नै विभाजन गरे । अल्पमतलाई मेन्सेभिक र बहुमतलाई बोल्सेभिक भनियो । रुसी कम्युनिस्ट पार्टी बोल्सेभिकको नेतृत्व लेनिन र स्टालिनले गरे ।
लेनिनको पार्टीलाई सही रूपमा परिचालन गर्नका लागि अर्काे महŒवपूर्ण निर्णय भनेको जनवादी केन्द्रीयता थियो । त्यसमा छलफलमा स्वतन्त्रता र कामकारबाहीमा एकरूपता हुन्छ । पार्टीका सम्बन्धित समितिको बैठक, भेला वा सम्मेलनमा आफ्ना विचार खुलस्त राख्ने र व्यापक छलफलपछि त्यो नीति बन्दछ । त्यसलाई सबैले कार्यान्वयन गर्नुपर्दछ । बैठक, भेला, सम्मेलनमा असहमति भए पनि पास भएपछि सबैले मान्नुपर्दछ ।
आफ्नो मत राख्नका लागि यी तीनोटा अवस्थामा मात्र खुलस्त राख्नुपर्दछ : पहिलो आफ्नो सम्बधित समितिको बैठकमा, दोस्रो– आफू्रभन्दा माथिको समितिमा लेखेर पठाउने र तेस्र्रो भनेको पार्टीको भेला, सम्मेलन वा महाधिवेशनमा । यसलाई जनवाद भनिन्छ । योबाहेक अरू अवस्थामा सबैले पार्टीको निर्णय मान्नुपर्दछ । चित्त बुझेन भन्दैमा जथाभावी बोल्ने, गुट बनाउने छुट कसैलाई हुँदैन । पार्टीभित्र अल्पमत बहुमतको अधिनमा र तल्लो समिति माथिल्लो समितिको मातहतमा र सम्पूर्ण समिति केन्द्रीय समितिको मातहतमा र केन्द्रीय समिति महाधिवेशन वा राष्ट्रिय सम्मेलनकोे मातहतमा हुनु केन्द्रीयता हो ।
यी सबै नीतिसिद्वान्तबाट लैस पार्टीसदस्य र सङ्गठनले मात्र मजदुर वर्गको राज्यसत्ता प्राप्त गर्न सक्दछ । अनुशासनविना केही पनि गर्न सकिँदैन । सर्वहारा वर्गको मुक्तिको लागि अनुशासित र मिलिट्यान्ट पार्टीसङ्गठनबाट मात्र सम्भव हुन्छ ।





