काठमाडौं । गत भदौ १० गते भोटेकोशी–त्रिशूली कोरिडोरमा आएको विनाशकारी बाढीबाट कुल ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। राष्ट्रिय योजना आयोगको प्रारम्भिक विस्तृत मूल्याङ्कन प्रतिवेदनअनुसार बाढीबाट चार जिल्लाका १५ स्थानीय तहका ३२ हजार ८७२ जना प्रत्यक्ष प्रभावित भएका छन्।
कुल क्षतिमध्ये घरपरिवार क्षेत्रमा ६९ अर्ब ५७ करोड र औद्योगिक तथा व्यावसायिक क्षेत्रमा ९ अर्ब ६० करोड रुपैयाँको नोक्सानी भएको छ। बाढीले खेतीयोग्य जमिन, घडेरी, घर, पशुपन्छी, सवारीसाधन तथा व्यापारिक प्रतिष्ठानमा ठूलो क्षति पुर्याएको छ।
प्रतिवेदनअनुसार क्षतिग्रस्त ४ हजार १५१ भवन संरचनामध्ये ३ हजार १९४ वटा अर्थात् करिब ७७ प्रतिशत पुनःप्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन्। बाढीबाट नुवाकोटमा सबैभन्दा बढी १७ हजार ९५४ जना प्रभावित भएका छन् भने रसुवा, धादिङ र गोरखामा समेत ठूलो असर परेको छ।
बाढीले खेतीयोग्य जमिन र घडेरी कटान गरी बगरमा परिणत गरेपछि प्रभावितमध्ये करिब ३० प्रतिशत पूर्ण रूपमा भूमिहीन बन्ने जोखिम देखिएको छ। घर र जमिन दुवै गुमाएका परिवारको पुनर्वास प्रमुख चुनौती बनेको आयोगले जनाएको छ।
आयोगले १५६ जना प्राविधिक तथा प्रशासनिक कर्मचारी र ५८ वटा टोली परिचालन गरी डिजिटल प्रविधिमार्फत स्थलगत अध्ययन गरेको थियो।





