काठमाडौँ । तत्कालीन राजदरबारका रूपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल र युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने सामग्री निकालेर युद्धकला प्रदर्शन गर्दै जात्रा मनाइएको छ ।
दरबारसँग सम्बन्धित विभिन्न समुदायको सहभागिता रहने जात्रामा गुठियारले जामा लगाएर हातमा खड्ग, ढाल र तरबार बोकी नगरका विभिन्न टोलमा तत्कालीन युद्धकला प्रदर्शन गरेका छन् ।
तत्कालीन दरबारबाट निकालिने यो जात्रा थहनेया टोल (माथिल्लो टोल) अन्तर्गत इनाएटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोल (तल्लो टोल) अन्तर्गत दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गर्ने परम्परा छ ।
जात्राका क्रममा बडादसैँको नवमीमा तलेजु भवानीलाई चढाइएको बलि, कोतभित्र अवस्थित देवता र दरबारको राजदण्डसमेत समावेश गरी नगर परिक्रमा गराइन्छ ।
जात्राका अवसरमा बालकुमारीमा कुभिन्डो काटेर बलि दिने परम्परा छ । बलि दिइएको कुभिन्डोलाई प्रसादका रूपमा ग्रहण गरे रोगबाट बच्न सकिने जनविश्वास छ ।





