काठमाडौँ । एक सय तीन वर्षीय डा. गौरीशङ्करलाल दासका अनुसार नेपालमा पहिलेपहिले दुर्गापूजाको प्रचलन थिएन, मानिसहरू टीकाजमरा मात्र लगाउँथे ।
उनका अनुसार नेपालस्थित भारतीय दूताबास, बङ्गाली समदुाय, रोटरी क्लबजस्ता संस्थाले मूर्ति बनाएर पूजा गरेपछि मात्रै अरूले त्यसको नक्कल गरेका हुन् । आजभोलि तराईमा जस्तै पहाडका सहरमा पनि दुर्गाको मूर्ति बनाएर पूजा गर्ने प्रचलन बढ्दो छ ।
उनको सङ्क्षिप्त अनुभूति जस्ताको तस्तै :
बडादसैँ आएपछि मेरा पुराना सम्झनाहरू मानसपटलमा आइरहन्छन् । मैले २००९ सालमा वीर अस्पतालमा रेजिडेन्ट मेडिकल अफिसरका रूपमा काम सुरु गरेको थिएँ । त्यसबेला हामी दुई–तीन जना मात्रै थियौँ । त्यति बेला दुईटा अस्पताल थिए– वीर मेल अस्पताल र वीर फिमेल (महिला) अस्पताल । ती दुवै अस्पताल बेग्लाबेग्लै थिए । पछि वीर अस्पताल र वीर हस्पिटलका रूपमा दुईटा अस्पताल भए ।
बडादसैँका बेला म प्राय: घर जाने गर्थें । त्यति बेला यहाँ बडादसैँमा मूर्ति बनाएर पूजा गर्ने चलन थिएन । मानिसहरूले घरघरमा मूर्ति बनाउने, टीका लगाउनेलगायतका परम्परागत गतिविधि गर्थे । भेडा, च्याङ्ग्रा र खसीबोकाको बलि दिने चलन पनि थियो ।
विजयादशमीको उत्सव घरघरमा मनाइन्थ्यो । मलाई सम्झना छ, सबैभन्दा पहिले भारतीय दूताबासमा दुर्गाको मूर्ति बनाएर पूजा गर्न थालिएको थियो । त्यसपछि अन्य ठाउँमा पनि दुर्गाको मूर्ति स्थापना गरेर पूजा गर्ने चलन सुरु भयो । त्यसपछि बङ्गालीले पनि दुर्गाको मूर्ति बनाउन थाले ।
मलाई सम्झना भएसम्म चन्द्रापुरमा पनि यस्तो चलन सुरु भएको थियो । बङ्गालीले रोटरी क्लबमा चन्दा सङ्गलन गरेर दुर्गाको मूर्ति स्थापना गरेका थिए र पूजा गर्न थालेका थिए ।
अहिले त धेरै ठाउँमा दुर्गाको मूर्ति बनाएर पूजा गर्ने चलन छ । पशुपतिनाथ, परोपकार, कालीमाटीलगायतका ठाउँमा पनि मूर्ति स्थापना गरेर पूजा गरिन्छ ।
टीका लगाउने र शुभकामना आदानप्रदान गर्ने चलनको कुरा गर्दा तराईमा पहिले यसको प्रचलन त्यति धेरै थिएन तर यहाँ भने सुरुदेखि नै मान्यजनकहाँ गएर टीका थाप्ने, टीका लगाइदिने र आशीर्वाद लिने चलन थियो । यसलाई मानिसहरूले ठुलो उत्सवका रूपमा लिने गर्थे ।
अहिले त सबैजसो मानिस टीका लगाउन मान्यजनकहाँ पुग्छन् । त्यसैले हामीले पनि यो संस्कार र संस्कृति ग्रहण गरेका छौँ । अहिले सबैले टीका लगाउने र मान्यजनबाट आशीर्वाद लिने गर्छन् । शुभकामना आदानप्रदान गर्ने चलन पनि छँदैछ । मानिसहरूले एकअर्कालाई शुभकामना दिन्छन् ।
अहिलेको अवस्था हेर्दा विभिन्न ठाउँमा दुर्गाको मूर्ति स्थापना गरेर पूजा गर्ने चलन पछिल्लो समयमा सुरु भएको देखिन्छ । पहिले यस्तो चलन थिएन ।





