श्यामलाल पोखरेल,बुटवल ।
कोरोना महामारीका कारण लकडाउन भएको अवस्थामा रुपन्देहीमा पुल निर्माणको काम सुरु गरिएको छ । जिल्लाभरि कोरोनाको महामारी बढेको अवस्थामा पनि तिलोत्तमा नगरपालिकामा पुलको मङ्गलबारदेखि निर्माणको काम सुरु भएको हो ।
रुपन्देहीको तिलोत्तमा गोरकट्टा तिनाउनदीमा निर्माण भइरहेको मणिग्राम–मोतिपुर जोड्ने पुलको वैकल्पिक डिजाइन स्वीकृत भएसँगै पुल निर्माणका काम सुरु गरिएको हो । २०६७ असार २५ गते सम्झौता भएर निर्माण थालिएको उक्त पुलको तीन वटा फाउन्डेसन, दुई स्यालप ढलान भएपछि रोकिएको थियो ।
इन्जिनियर दुर्गा गौतमका अनुसार छ वटा फाउन्डेसन रहने गरी डिजाइन गरिएको पुलको तीन वटा फाउन्डेसनमा ढुङ्गा परेकाले निर्माणको काम रोकिएको थियो । अनुसार दुई वर्ष अघिदेखि रोकिएको निर्माणको काम वैकल्पिक डिजाइन स्वीकृत गराएर सुरु गरिएको हो । फाउन्डेसनमा कडा ढुङ्गा काम रोकिएको र सडक विभागको पुल महाशाखाबाट विभिन्न चरणमा छलफलपछि वयल फाउन्डेसनलाई परिर्वतन गरी पाइल फाउन्डेसन बनाउने वैकल्पिक डिजाइन स्वीकृत भएपछि पुनः निर्माण थालिएको हो ।
पहिलो चरणमा २०६९ पुस २४ गते सक्ने गरी १० करोड ३७ लाख ९५ हजार रुपियाँमा काठमाडौँको एलिट कन्ट्रक्सनले ठेक्का पाएको थियो । तर निर्माणको काम सम्पन्न नभएपछि निर्माण कम्पनीले अन्तिम म्याद २०७७ फागुन १३ गतेसम्म थप गरिएको छ ।
पुल्चोक इन्जिनियरिङबाट उक्त पुलको निरीक्षण र अनुगमन हुँदासमेत ढुङ्गाको कारण मापदण्डअनुसार फाउन्डेसन तल जान नसक्ने भन्दै वैकल्पिक डिजाइन इन्जिनियरिङ कलेज दिएको थियो । वैकल्पिक डिजाइन बढी महङ्गो भएपछि पुल महाशाखाले वैकल्पिक डिजाइन तयार गरी स्वीकृत गरेको थियो । सम्झौतानुसार १७ मिटर जानुपर्ने फाउन्डेसन अधिकतम १० मिटरसम्म गएकाले बाँकी जानुपर्ने ७ मिटरको स्टिमेटअनुसार रकम घटाई पाइल फाउन्डेसनको रकम थप गरिने डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासनीले जानकारी गराएका छन् ।
तिनाउनदीमा बन्न लागेको यो पुल सञ्चालन हुँदा बुटवल र तिलोत्तमा आउनका लागि नागरिकलाई सहज हुने छ । अति आवश्यक ठाउँमा बन्न लागेको पुलको काम बिचैमा नरोकिए र समयमा नै सम्पन्न भए तिनाउपारिका बस्ती मोतिपुर, फर्साटिकर, शुद्वोधन, छपिया, अमुवालगायतका विभिन्न ठाउँ बुटवल र तिलोत्तमासँग जोडिने छन् ।
पुल निर्माणको काम सुरु हुँदा रुपन्देहीमा फरक–फरक खालका टिप्पणी आएका छन् । कसैले महामारीको बेलामा पनि पुल निर्माणको काम सुरु हुनुलाई स्वागत गरेका छन् भनै कसैले आजसम्म सुतेर बस्ने जब कोरानाको महामारी फैलिन थालेको अवस्थामा पुल निर्माणको कामले झनै असुरक्षित भइने बताएका छन् ।
विकास अगाडि बढाउनु राम्रो पक्ष हो, तर स्थानीय सरकार आफैले लकडाउन गर्ने, अनि हुलका हुल कामदारका साथ निर्माणको काम सुरु गर्नु लकडाउन अवधिभर उचित नहुने स्थानीय बेलबहादुर दासको तर्क छ ।
समयमा नै पुल निर्माण भए वर्षात्को समयमा डेढ घण्टा समय लगाएर बुटवल, तिलोत्तमा जानुपर्ने बाध्यता हट्ने र २० मिनेटमै गन्तब्यमा पुग्न सकिने स्थानीय टिकाराम अधिकारीले बताए ।
पुल निर्माण भएपछि मोतिपुर, शुद्धोधनबाट तिलोत्तमा आउन दुरी घट्ने छ भने लुम्बिनी जाने आन्तरिक एवम् बाह्य पर्यटक सिधा पुग्न सक्ने छन् । निर्माणको काम सुरु भएको यो पुल बुद्ध सर्किटमा परेकाले यसको महत्त्व ठुलो छ ।