मुम्बई, असोज १२ । भारतमा ककरोच जनता पार्टी (सीजेपी)ले आगामी अक्टोबर २ मा ‘जेल भरो आन्दोलन’ गर्ने घोषणा गरेको छ। पार्टीका संस्थापक अभिजीत दीपकेले सोमबार सामाजिक सञ्जाल एक्समार्फत आन्दोलनसम्बन्धी पोस्टर सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन्।
दीपकेका अनुसार सीजेपीले मुम्बईस्थित शिवाजी पार्कमा आन्दोलन आयोजना गर्ने तयारी गरेको छ। उनले भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले पदबाट राजीनामा दिनुपर्ने पार्टीको मागसमेत पुनः दोहोर्याएका छन्।
सीजेपीले यसअघि नै मुख्य निर्वाचन आयुक्त कुमारले राजीनामा नदिए अक्टोबर २ देखि आन्दोलन सुरु गर्ने घोषणा गरेको थियो। सोही घोषणाअनुसार पार्टीले ‘जेल भरो आन्दोलन’ अघि बढाउन लागेको जनाएको छ।
तर, मुम्बई प्रशासनले सीजेपीलाई उक्त स्थानमा आन्दोलन गर्न अनुमति नदिएको बताइएको छ। अनुमति नदिइएको विषयमा प्रतिक्रिया दिँदै दीपकेले जनताको आवाज दबाउने प्रयास स्वीकार्य नहुने बताएका छन्।
सीजेपीले निर्वाचन आयोगसम्बन्धी आफ्नो मागलाई लिएर आन्दोलनलाई निरन्तरता दिने जनाएको छ।





