हैदरावाद (भारत) । नेकपा (मसाल) का पार्टीसदस्य पूर्णबहादुर केसीको भारतको हैदरावादमा निधन भएपछि महामन्त्री मोहनविक्रम सिंहले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
२०८३ असोज ९ गते शुक्रबार हैदरावादस्थित लेनिननगर घाटमा महामन्त्री सिंहले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।
दाहसंस्कारपूर्व मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष प्रेम पौडेलले उहाँको पार्थिव शरीरमा मूल प्रवाहको झन्डा ओढाउनुभएको थियो ।
हैदरावाद नगर समितिको सदस्यसमेत रहिसक्नुभएका केसी मसालको पनि पार्टीसदस्य रहेको महामन्त्री सिंहद्वारा जानकारी गराइएको थियो ।
दाहसंस्कार स्थलमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्मा, राजमो नेता वासु पोखरेल, मूल प्रवाहका केन्द्रीय सदस्य तथा मध्यदक्षिण क्षेत्रीय समितिका अध्यक्ष कृष्णबहादुर थापा, मूल प्रवाहकै रनबहादुर पौडेललगायत सङ्गठनका नेताकार्यकर्ता तथा परिवार र आफन्तजनको उपस्थिति रहेको थियो ।
७८ वर्षीय केसी गत लामो समयदेखि पेटसम्बन्धी स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्यो ।
उहाँको जन्मघर बागलुङ जिल्लाको जैमुनी नगरपालिका–१० दोभान रहेको परिवारले जानकारी दिएको छ ।
