काठमाडौं । वर्षाले तरकारी आपूर्तिमा ८५ प्रतिशत घट्दा तरकारीको भाउ बढ्यो छ ।
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि देशभरि निरन्तर पानी परिरहेको कारण भाउ बढेकोे हो ।
लगातारको वर्षाका कारण देशका मुख्य तथा ग्रामीण राजमार्गहरूमा गएको पहिरोले यातायात आवागमन पूर्णरूपमा प्रभावित हुँदा यसको प्रत्यक्ष असर संघीय राजधानी काठमाडौंको भान्सामा परेको छ ।
पृथ्वी राजमार्गको धादिङ खण्डमा सात ठाउँमा पहिरो झरेको प्रहरीले जनाएको छ । कतिपय ठाउँमा पहिरो पन्छाइसकिएको र कतिपय ठाउँमा पन्छाउने काम जारी छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार हिजो बिहीबार तरकारी, फलफूल, माछा लगायत कुल ६ लाख ५७ हजार ३ सय ८ किलो कृषि उपज भित्रिएकोमा आज शुक्रबार आपूर्तिमा ८५ प्रतिशतभन्दा बढीको गिरावट आइ जम्मा ९७ हजार ६ सय ५१ किलो मात्र भित्रिएको छ ।
आपूर्तिमा आएको यो संकुचनसँगै बजारमा ३६ वटा विभिन्न तरकारी तथा मसलाजन्य उपजको थोक मूल्यमा हिजोको तुलनामा आज भारी वृद्धि भएको छ ।
