कोलम्बो, ७ असोज । श्रीलङ्काको आर्थिक सङ्कटपछि सुरु भएको पुनःप्राप्ति प्रक्रिया एल निनो जलवायु घटना र मध्यपूर्वको युद्धका कारण जोखिममा पर्न सक्ने अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चेतावनी दिएको छ ।
सन् २०२२ मा विदेशी मुद्रा अभावका कारण श्रीलङ्काले गम्भीर आर्थिक सङ्कट व्यहोर्नुका साथै पहिलो पटक सार्वभौम ऋण तिर्न नसक्ने अवस्था बेहोरेको थियो । त्यसपछि प्राप्त सुधारका उपलब्धि जोगाउनु महत्त्वपूर्ण रहेको आइएमएफले दुई अर्ब ९० करोड अमेरिकी डलरको ऋण सहयोग कार्यक्रमको समीक्षामा जनाएको छ ।
आइएमएफका अनुसार मध्यपूर्व युद्धको अवधि र तीव्रता, विश्वव्यापी व्यापार नीतिमा हुने परिवर्तन तथा एल निनोको प्रभावले श्रीलङ्कासामु थप जोखिम सिर्जना गरेका छन् । यस्तो अवस्थामा आर्थिक स्थायित्व कायम राख्न वित्तीय तथा बाह्य क्षेत्रका सुरक्षा सञ्चिति बलियो बनाउन विवेकपूर्ण नीति अवलम्बन गर्दै सुधारलाई निरन्तरता दिन आवश्यक रहेको आइएमएफले जनाएको छ ।
श्रीलङ्का मौसम विभागले एल निनोका कारण यस वर्षको बाँकी अवधिमा गम्भीर खडेरी वा भारी वर्षा हुनसक्ने चेतावनी दिएको छ । वर्षाको कमीले जलविद्युत् उत्पादन घटाएर महँगो तापीय विद्युत्मा निर्भरता बढाउन सक्ने अधिकारीहरूले बताएका छन् । खडेरी प्रभावित क्षेत्रमा वर्षाका लागि प्रार्थना गर्न श्रीलङ्का वायुसेनाले बौद्ध भिक्षुहरूलाई समेत पु¥याएको थियो ।
मध्यपूर्वको युद्धपछि श्रीलङ्काले इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढी बढाएको छ । सरकारले अक्टोबरमा पनि इन्धन अनुदान जारी राख्ने जनाएको छ ।
चार वर्षे आइएमएफ ऋण कार्यक्रम आगामी मार्चमा सकिँदैछ । त्यसपछि नयाँ ऋण व्यवस्था आवश्यक पर्ने वा नपर्नेबारे श्रीलङ्काली अधिकारीहरूले निर्णय गर्न बाँकी छ ।
