काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लोककल्याणकारी विज्ञापनबापत छापा सञ्चारमाध्यमले प्राप्त गर्दै आएको रकम कार्यविधि संशोधनका नाममा कटौती गरिएको विषयमा ध्यानाकर्षण गराइएको छ ।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालको नेतृत्वमा गएको टोलीले प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
टोलीमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शोभा अर्याल, उपाध्यक्ष हेमबहादुर राना, सचिव रमेशकुमार बोहोरा, शाखाका सल्लाहकार तथा केन्द्रीय सदस्य सूर्य सुवेदीलगायत शाखाद्वारा गठित ‘छापा माध्यम बचाउ सुझाव कार्यदल’का सदस्य टंक कार्की, विश्वराज किराँत, सीता पोखरेल र कल्पना खड्का तथा वरिष्ठ पत्रकारहरूको सहभागिता रहेको थियो ।
कार्यदलका संयोजक दामोदरप्रसाद दवाडीको हस्ताक्षर रहेको ध्यानाकर्षणपत्रमार्फत लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय फिर्ता लिन तथा छापा सञ्चारमाध्यमको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक पहल गर्न आग्रह गरिएको छ ।

