• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, भदौ २७, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

फर्सबहादुर सुनारप्रति मसालको श्रद्धाञ्जली

रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ

श्रीगङ्गानगरमा मूल प्रवाहद्वारा रसुवाबाढीका प्रभावितका लागि राहत सङ्कलन सुरु

बुटवलबाट ‘मनसुन’ साप्ताहिकको प्रकाशन सुरु

शिवराज–११ मा राजमोको भेला, अध्यक्षमा चमार (फोटासहित)

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ


  •   शनिबार, भदौ २७, २०८३ मा प्रकाशित
  • प्रकाश थापामगर ##

    Advertisement

    विषयप्रवेश

    २०८३ भदौ १० गते बिहान ९ बजेतिर रसुवाको भोटेकोशी नदीमा अस्वाभाविक र अकल्पनीय हिमपहिरोजन्य बाढी आयो । हिमपहिरोजन्य यसकारणले भनियो, अहिलेसम्मका तथ्यहरूले नेपालतर्फको लाङटाङ लिरुङ हिमालमा गएको हिमपहिरो ल्हेन्देखोला हुँदै भोटेकोशी नदी हुँदै त्यो भीषण बाढी आएको थियो । यहाँनेर यो पनि उल्लेखनीय छ, हिमपहिरो भनिए पनि त्यो विशुद्ध हिउँको थिएन । यदि त्यस्तो भएको भए यति भीषण बाढी आउँदैनथ्यो । त्यो हिमपहिरोमा चट्टान र माटोसहित गेग्रानको ठुलो मात्रा थियो । फलस्वरूप त्यो गेग्रानले एकातर्फ बाढीको गति अकल्पनीय र भीषण बनाइदियो—प्रतिघण्टा १८० किलोमिटर वा प्रतिसेकेन्ड ५० मिटरभन्दा बढी; अर्कोतर्फ यस्तो हिमपहिरो जाँदाको घर्षणले गुरुत्वाकर्षण बलसँगै मिलेर भीषण ऊर्जा उत्पन्न भयो, जसलाई नेपालको भूकम्पमापन केन्द्रले ४.४ र अमेरिकी भौगर्भिक समाज (युएसजिएस) ले ५.४ म्याग्निच्युड भूकम्पको रूपमा मापन गरेका थिए । पछि स्पष्ट भयो, त्यो भूकम्प थिएन बरु हिमपहिरोको फलस्वरूप त्यस भूगोलमा उत्पन्न भएको भूकम्पजस्तै कम्पन थियो (श्रेष्ठ, २०८३, सेतोपाटी डट कम) ।

    भदौ १० गते बाढी आउँदा प्रारम्भमा नेपालमा त्यसबारे कतिपय भ्रम थिए । त्यसमध्ये भूकम्पको कारण तिब्बतका हिमताल फुटेर रसुवाको भोटेकोशी नदीमा बाढी आएको मुख्य थियो । यस सन्दर्भमा यो पनि उल्लेखनीय छ, भोटबाट दक्षिण नेपालतर्फ बग्ने नदीहरूलाई स्थानीयवासीले ‘भोटेकोशी’ भन्ने गरेका थिए । फलस्वरूप सङ्खुवासभा जिल्ला हुँदै बग्ने भोटेकोशी नदी वरिपरिका स्थानीयवासी पनि त्यस सूचनाबाट भ्रमित भएका थिए । वास्तवमा ‘रसुवाको भोटेकोशी’ वा ‘भोटेकोशी–त्रिशूली’ जस्ता शब्दावली प्रयोग गरिएको भए भ्रमको स्थिति रहँदैनथ्यो । जे होस्, अहिले स्थिति स्पष्ट भइसकेको छ ।

    रसुवाबाढी भीषण प्रकृतिको सँगसँगै अकल्पनीय पनि थियो भन्ने अहिले छर्लङ्ग भइसकेको छ । पहाडी मुलुक नेपालमा बाढीपहिरो आउनु सामान्य परिघटना हो । यस्तो अवस्थामा रसुवा नाकाबाट बाढी तलतिर झर्दै गर्दा तल्लोतटीय क्षेत्रमा सूचना प्रसारण गरियो पनि तर त्यहाँका कैयौँ वासिन्दाले त्यसप्रति विश्वास नगरेको पनि देखियो । फलस्वरूप कैयौँ मानिस घरबाट बाहिर निस्केनन्, यहाँसम्म कि बाढीको सूचना दिँदै हिँडेका सुरक्षाकर्मीलाई नै बाढीले बगायो । एउटै घरमा २४ ओटासम्म शव भेटिनुले प्रभावित क्षेत्रका मानिसहरू भाग्न नखोजेको हुन सक्ने देखिएको छ, जबकि धादिङको गल्छीसम्म आइपुग्दा बाढीको जलसतह ९ मिटरसम्म पुगेको थियो । अहिलेसम्म प्राप्त तथ्यले बाढी साविक जलसतहभन्दा २७० फिट माथिसम्म पुगेको देखिन्थ्यो । यस्तो अकल्पनीय तथा भीषण बाढीको फलस्वरूप रसुवा र नुवाकोटका टिमुरे बजार, बेत्रावती, मैलुङ, स्याफ्रुबेसी, त्रिशूली बजारजस्ता मानव बस्ती एक क्षणमा ध्वस्त भए । धादिङका कैयौँ भौतिक संरचना समाप्त भए ।

    यो भयावह बाढीको परिणामस्वरूप २०८३ भदौ २७ गते बिहानसम्म १,३८५ भन्दा बढी शव भेटिएका छन् । ७,६५५ बढी घाइतेको उपचार भइसकेको छ । अझै ५,१३० बन्दा बेपत्ता छन् । हालसम्म १३,६७८ जनाको उद्धार भइसकेको छ । दु:खको कुरा छ, परिवारै बाढीको प्रकोपमा परेकाले अत्यन्तै थोरै शवको पहिचान हुन सकेको छ । घरवारविहीनको अवस्था गम्भीर छ । उनीहरू विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन् । सरकारले तीव्र गतिमा प्रभावित क्षेत्रमा विद्युत् प्रसारण पुनस्र्थापना गरेको तथा सञ्चार सेवा पुनस्र्थापना गरेको जानकारी दिएको छ ।

    रसुवाबाढीको सन्दर्भमा देशविदेशबाट सहयोगी हात उठेका छन् । अहिलेसम्म १२ अर्ब रुपियाँभन्दा बढी सहयोग घोषणा भएको भनिएको छ । नेपालमा यस खालका राहत वा सहयोगमा अनियमितता भएका उदाहरण छन् । राहत सङ्कलनको नाममा नै अनियमितता गर्ने प्रवृत्तिलाई एकद्वार प्रणालीद्वारा निरुत्साहित गर्ने भनिएको छ तर सङ्कलित राहत वास्तविक प्रभावितसमक्ष पुग्नेछ वा छैन ? यो महत्त्वपूर्ण विषय हो । त्यससँगै ध्वस्त भौतिक संरचनाको पुनस्र्थापना तत् तत् स्थानमा पुनस्र्थापना गर्नु सम्भव छ कि छैन ? यो चुनौतीको विषय छ ।

    यस बाढीबाट सुकुम्वासीको सङ्ख्या बढ्ने निश्चित छ । त्यसको व्यवस्थापन पनि राज्यका लागि थप चुनौतीको विषय बन्नेछ । विषयान्तरणका कारण यहाँ त्यसबारे चर्चा गरिएको छैन ।

    अब यस प्रसङ्गमा छलफल गरौँ, आखिर रसुवा क्षेत्र हुँदै नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनसम्म यति भीषण र अकल्पनीय बाढी किन र कसरी आयो ?

    रसुवाबाढीमा २९ तथ्य

    भदौ १० गतेपछिका केही दिन अनुमानमा गुज्रिए पनि पछिल्ला समयमा यससम्बन्धी प्रशस्त तथ्य सार्वजनिक भएका छन् । हिमाल वा पहाडसित सम्बन्धित विभिन्न अध्ययन संस्थाका अध्येता, भूगर्भविद्, मौसमविद् आदिले यस सम्बन्धमा तथ्यमा आधारित विश्लेषण अगाडि सारेका छन् । त्यस क्रममा स्टाटेलाइट (भूउपग्रह) वा विभिन्न प्रकारका आधुनिक उपकरणको माध्यमबाट तथ्य सार्वजनिक भएका छन् ।

    १. न्युयोर्क टाइम्सका अनुसार २६ वर्षीय पर्यटक गाइड जिहा यिती र उनको पदयात्रा टोलीले भदौ १० गते लाङटाङ हिमालको पारिपट्टि चीनको तर्फबाट खिचेको भिडियोमा हिमपहिरोअघि र पछिका दृश्य छन् । उक्त भिडियोमा हिमपहिरोसँगै ठुलो चट्टानी भाग तल खसेको देखिएको छ । पहिरो खसिसकेपछि पनि हिउँ र पहिरोको भाग पटकपटक खसिरहेको दृश्य भिडियोमा छ । यसबाट लाङटाङमा हिमपहिरोसँगै विशाल चट्टानी भूभाग खसेको स्पष्ट हुन्छ (श्रेष्ठ, २०८३, सेतोपाटी डट कम) ।

    २. हिमपहिरो नेपालतर्फकै लाङटाङ लिरुङ हिमालमा गएको थियो । करिब ५,२०० मिटरको उचाइबाट सो पहिरो खसेको थियो । उक्त हिमपहिरोले पहिले करिब १,२०० मिटर त पछि ४,००० मिटर तल ल्हेन्देखोलामा पुगी बाढीको रूपधारण गरेको थियो (श्रेष्ठ, २०८३, सेतोपाटी डट कम) ।

    ३. हिमपहिरोसँगै चट्टान, माटो र अन्य गेग्रान ठाडै तल खस्दा त्यसमा गुरुत्वाकर्षण बलसमेतको प्रभावले बाढीको गति अस्वाभाविक रूपमा तीव्र हुन पुगेको थियो । फलस्वरूप बाढीको गति प्रतिसेकेन्ड ५० मिटर वा प्रतिघण्टा १८० किलोमिटरभन्दा बढी हुन पुग्यो । ल्हेन्देखोलाको मुहानदेखि नेपाल–चीनको रसुवा नाकासम्मको २२ किलोमिटर दुरी पार गर्न सो बाढीलाई करिब सात मिनट लागेको थियो (श्रेष्ठ, २०८३, सेतोपाटी डट कम) ।

    ४. बाढीले यति भयावह उचाइ कायम गरेको थियो, धादिङको गल्छीमा आउँदा त्यसको उचाइ ९ मिटरसम्म पुगेको थियो । बाढी साविक जलसतहभन्दा करिब २७० मिटर माथिबाट बगेको सञ्चारमाध्यमले लेखेका छन् ।

    ५. प्रारम्भमा हिमताल थुनिएर बनेको ताल फुटेको अपेक्षा गरिए पनि युएसजिएस र हिमनदीविज्ञ सुदीप ठकुरीका अनुसार लाङटाङ लिरुङको हिमपहिरोले कुनै ताल बनाएन, किनकि हिमताल बन्न र फुट्न समय लाग्दछ तर त्यहाँ हिमपहिरो खसेको सात मिनटमै बाढीले २२ किलोमिटर दुरी पार गरेको देखियो (श्रेष्ठ, २०८३, सेतोपाटी डट कम) ।

    ६. लाङटाङ लिरुङ हिमपहिरोले त्यस क्षेत्रमा रहेको ल्हेन्देखोलाको निमेषभर मुहान थुन्ने र पुरानो बहाव पनि परिवर्तन गरेको भने देखिन्छ । उपग्रहमा तिब्बती क्षेत्रमा कम्तीमा दुइटा जलासय देखिएको छ तर त्यही जलासय फुटेर रसुवाबाढी आएको होइन । पछि विस्तारै एउटा तालको पानीको निस्कियो । त्यसले पनि त्रिशूली नदीमा ३ मिटर उचाइको जलसतह कायम गरेको थियो (श्रेष्ठ, २०८३, सेतोपाटी डट कम) ।

    ७. चिनियाँ सर्वेक्षणले एउटा ताल अझै नफुटेको बताएको छ । त्यसका साथै त्यो तालको रङ फेरिएको तथा त्यसमा ५०,००० घनमिटर हिउँ खसेको भनियो तर यी सबै सूचना लाङटाङ लिरुङ हिमपहिरोको परिणाम थिएनन् भन्ने देखिएको छ (श्रेष्ठ, २०८३, सेतोपाटी डट कम) ।

    ८. भूगर्भशास्त्रीहरूले लाङटाङ क्षेत्रको विशिष्ट भूगोल, वर्षौंदेखि खुम्चिँदै गएको हिउँपहाड, पर्माफ्रस्ट (कम्तीमा लगातार दुई वर्ष वा त्यसभन्दा बढी समयदेखि जमेको अवस्थामा रहेको माटो, बालुवा, ढुङ्गा वा जमिनको तह), घटनाअघिको असामान्य तापक्रम, धुम्म बादलले कायम गरेको अत्यधिक आद्रताको वायुमण्डलीय अवस्था, पग्लिएको हिउँका कारण त्यहाँको कमलो भूगोललाई समग्रमा त्यो हिमपहिरोको कारण मानेका छन् (श्रेष्ठ, २०८३, सेतोपाटी डट कम) ।

    ९. “ग्लोबल एन्ड प्लानेटरी चेन्ज” जर्नलमा प्रकाशित गुञ्जन सिलवाल, बेथन डेभिस, जे. रेचल कारको अध्ययनबाट सन् १८१५ देखि सन् २०२३ सम्म लाङटाङ क्षेत्रको कुल हिमक्षेत्र ४१.५ प्रतिशतले घटेको छ । त्यस्तै ४,००० मिटरभन्दा माथिको लाङटाङ क्षेत्रको तापक्रम सन् १९६४ यता प्रतिदशक ०.३ डिग्री सेल्सियसले बढेको छ । हिउँ घट्ने क्रम सन् १९१५–६४ सम्म वार्षिक ०.११ प्रतिशत रहेकोमा सन् १९६४–२०२३ मा बढेर ०.४९ प्रतिशत पुगेको छ अर्थात् पछिल्लो समय लाङटाङ क्षेत्रको तापक्रम चार गुनाले बढिरहेको छ (श्रेष्ठ, २०८३, सेतोपाटी डट कम) ।

    १०. हिमनदीविज्ञ सुदीप ठकुरीका अनुसार हिमनदीका ढिक्का पग्लिनु हिमालय क्षेत्रको सामान्य प्रक्रिया हो । आफ्नै वजनका कारण झुन्डिएका हिउँका ढिस्का तलतिर खस्छन् । ठाउँठाउँमा चिरिएका स्थानमा हिउँ पस्दा त्यसबाट हिमपहिरो गइरहनु सामान्य भौगर्भिक परिघटना हो (श्रेष्ठ, २०८३, सेतोपाटी डट कम) ।

    ११. ब्रिटिस आर्कटिक सर्भेका हिमनदीविज्ञ हामिस प्रिचार्डले लाङटाङको घटनास्थलभन्दा करिब १० किलोमिटर टाढा राखिएको तापमापक उपकरणमा त्यस दिन (भदौ १० गते) को तापक्रम गत दुई वर्षकै उच्च देखिएको थियो । यसको परिणामस्वरूप तीव्र गतिमा हिउँ पग्लिएको मान्न सकिन्छ (श्रेष्ठ, २०८३, सेतोपाटी डट कम) ।

    १२. इसिमोड (अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय अध्ययन केन्द्र) को सन् २०२३ को अध्ययनमा सन् २०११ देखि २०२० सम्म हिन्दुकुश (भारत, नेपाल र तिब्बतको हिमशृङ्खला) हिमालयमा हिमनदी हराउने घटना अघिल्लो दशकको तुलनामा ६५ प्रतिशतले बढेको छ । अहिलेकै हरितगृह ग्यास उत्सर्जनको गति कायम रहने हो भने यो दशक (सन् २०२१–३०) मा हिमनदी गुमाउने गति ८० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ (श्रेष्ठ, २०८३, सेतोपाटी डट कम) ।

    १३. यस वर्ष (सन् २०२६) दक्षिण एसियामा एलनिनो मौसमी प्रणाली सक्रिय थियो । त्यसको परिणामस्वरूप उच्च गर्मी तर थोरै वर्षा हुँदा लाङटाङ लिरुङको हिउँ पग्लिने क्रम बढेको मान्न सकिन्छ (कट्टेल, २०८३, शिलापत्र डट कम) ।

    १४. चिनियाँ प्राध्यापक तानदोङ याओका अनुसार लाङटाङ क्षेत्रमा हिमपहिरो जानुअघि स्पष्ट रूपमा चिरा देखिएको थियो । त्यसबाट हिमनदीमा भौगर्भिक अस्थिरताको स्पष्ट सङ्केत पहिल्यै देखिएका थिए (कट्टेल, २०८३, शिलापत्र डट कम) ।

    १५. “अर्थ सर्फेस प्रोसेसेज एन्ड ल्यान्डफर्म” जर्नलमा प्रकाशित पूर्वी आल्पस (सुल्डेन/सुल्डेन उपत्यका) बारे सारा साभी र उनको टोलीको अध्ययनमा सन् २००० यता चट्टान खस्ने उत्पत्तिक्षेत्रको उचाइ ३०० मिटरले माथि सरेको छ अर्थात् अब झन् चुचुरोमा पहिरो जाने क्रम बढिरहेको छ (कट्टेल, २०८३, शिलापत्र डट कम) ।

    १६. अनुसन्धानकर्ता खिमलाल गौतमका अनुसार एभरेस्ट बेसक्याम्पमा हिउँका ठुलाठुला थुम्का र वनस्पती तीव्र गतिमा समाप्त भइरहेका छन् । त्यसको अर्थ ग्लोबल वार्मिङले नेपालको हिमालमा पनि प्रशस्त प्रभाव पारिरहेको छ (गौतम, २०८३, अनलाइन खबर डट कम) ।

    १७. सन् २००८ मा चीनमा ओलम्पिक भएपछि सन् २०१० देखि सगरमाथा आरोहण ह्वात्तै बढेको छ । यसले गर्दा ग्लोबल वार्मिङको असर हिमाली क्षेत्रमा ५० प्रतिशतले बढेको विभिन्न शोधले देखाएका छन् (गौतम, २०८३, अनलाइन खबर डट कम) ।

    १८. हिमाल आरोहण गर्नेहरूले पिसाब उत्सर्जन गर्दा पनि हिमाल पग्लिरहेको छ । शून्यभन्दा तलको तापक्रम रहेको हिउँमा ३७ डिग्री सेल्सियसको पिसाबले हिउँ पगाल्छ नै । अर्कोतर्फ, उचाइमा पुग्दा शरीर सुक्खा हुनाले तल्लो क्षेत्रका मानिसले दैनिक ३ लिटर पानी पिउने गरेकोमा हिमाल आरोहीले ५ लिटर पानी पिउँछन् । हिमाल आरोहीले एकै सिजनमा करिब १ लाख ५४ किलोग्राम पिसाब उत्सर्जन गर्दछन् । त्यस्तै आधार शिविरबाट फोहोर तल ल्याउँदा तौलअनुसार पैसा तिर्नुपर्ने हुँदा आरोहीले दिसाजस्तै पिसाब सङ्कलन गर्दैनन् बरु हिमालमै उत्सर्जन गर्दछन् (गौतम, २०८३, अनलाइन खबर डट कम) ।

    १९. गौतमका अनुसार नेपालका हिमाल विश्वकै कान्छो पर्वत हो । विश्वका अन्य पहाड १२ करोड वर्ष पुरानो रहेकोमा हाम्रा हिमाल ४.५ देखि ५ करोड वर्ष पुरानो मानिएको छ । त्यसले पनि हाम्रा हिमाल वा पहाडमा पहिरोको जोखिम बढी छ भन्ने निष्कर्षमा पुग्न कठिनाइ छैन (गौतम, २०८३, अनलाइन खबर डट कम) ।

    २०. सूचनामा गम्भीरता नहुनु अर्को समस्या हो । रसुवा नाकाभन्दा मुनिका बस्तीमा ‘धेरै ठुलो बाढी छ, सुरक्षित ठाउँमा जाऔँ’ भनिएको तर ‘पूरै सहर नै बगाउने खालको बाढी आएको छ’ भनेर सूचना प्रसारण गर्न नसक्दा मानवीय क्षति न्यूनीकरण गर्न सकिएन, खासगरी वेत्रावती र विदुरलगायतका स्थानमा (पराजुली, २०८३, नेपाल प्रेस डट कम) ।

    २१. लाङटाङ लिरुङ हिमालबाट भत्किएको हिमक्षेत्रको आयतन १० देखि २० करोड घनमिटर हुन सक्ने बताइएको छ । इसिमोडका हिमक्षेत्र विशेषज्ञ डा. मोहम्मद फारुक आजमका अनुसार यो आयतन भनेको ४०–८० हजार ओलम्पिक आकारको पौडीपोखरी बराबर हो । त्यस्तै, अमेरिकाको मिचिगन स्टेट विश्वविद्यालयका जलविज्ञ डा. यदु पोखरेल र सौगात अर्यालले उपलब्ध स्याटलाइट तस्बिरको आधारमा भत्किएको हिमनदीको भाग मात्रै ६०० मिटर फराकिलो अर्थात् करिब १०० मिटर लम्बाइको ६ ओटा खेलमैदान बराबर भएको बताएका छन् (श्रेष्ठ, सेटोपाटी डट कम) ।

    २२. सुदीप श्रेष्ठका अनुसार हिमपहिरोले रौद्र रूप लिनुका पछाडि पाँच कारण थिए : (१) भत्किएको हिमचट्टान ठुलो हुनु, (२) हिमपहिरो झरेको स्थान अत्यन्त ओरालो हुनु, (३) दुई पहाडले च्यापेको अत्यन्त साँघुरो खोच हुनु, (४) पहिरोमा हिउँसँगै पानी, चट्टान, ढुङ्गा, माटो र लेदो थपिँदै जानु, (५) फलस्वरूप असाधारण गति उत्पन्न हुनु (श्रेष्ठ, २०८३, सेतोपाटी डट कम) ।

    २३. अमेरिकी भूगर्भशास्त्री राडार इमेजका अनुसार लाङटाङ लिरुङ हिमालमा बाढी आउनुभन्दा ७ दिनअघि नै त्यस क्षेत्रको जमिन विस्तारै तल सरिरहेको थियो । त्यस्तै, अमेरिकाकै अर्का भूगर्भशास्त्री मनुचेहर सिर्जाईले पनि भदौ १० गतेअघि नै सोही प्रक्रिया भइरहेको बताए । उनले जनवरी ८ देखि अगस्त १९ (२०२६) सम्मका स्याटलाइट तस्बिर र तथ्याङ्क केलाउँदै त्यहाँको जमिन प्रत्येक महिना १० मिलिमिटरका दरले तल सरिरहेको बताए (श्रेष्ठ, अनलाइन खबर डट कम) ।

    २४. चीनको ग्लोबल चेन्ज एन्ड पोलार मेटेरोलोजी इन्स्टिच्युटका वैज्ञानिक झाङ दोङजी र जलवायु परिवर्तन निगरानी तथा प्रक्षेपण विभागकी वैज्ञानिक मा लिजुआनले पछिल्ला १०–१० वर्षको तथ्याङ्कअनुसार हिमपहिरो वा हिमनदीसँग सम्बन्धित बिपद्को सङ्ख्या तथा विनाशकारी प्रभाव बढेको बताए । उनीहरूले सन् १९९० पछि यस्ता भौगर्भिक प्रवृत्ति अझ बढेको निष्कर्ष निकाले । चीनले सन् १९७८–२००२, सन् २००८–१५ र सन् २०२३–२६ गरी तीनपटक हिमनदीको विस्तृत गणना गरेको थियो । त्यसमा तिब्बतका हिमक्षेत्रको क्षेत्रफल ५१,००० बाट घट्दै गएर ४४,००० र पछि ३९,००० वर्गकिलोमिटरमा घटेको, त्यस्तै सन् १९९०–२०२० माझ हिमतालको सङ्ख्या र क्षेत्रफल दुवै २० प्रतिशतले बढेको देखिएको छ । तिब्बतको यो सर्वेक्षण नेपालका लागि पनि महŒवपूर्ण हुन सक्छ (दोङछी र लिजुआन, २०८३, शिलापत्र डट कम) ।

    २५. इसिमोडका जलवायु विशेषज्ञ डा. अरुणभक्त श्रेष्ठका अनुसार नेपालका वर्षैभरि शून्य डिग्री सेल्सियसभन्दा कम तापमान रहने थुप्रै ठाउँ छन् । त्यहाँ आफ्नै भारले थिचिएर हिउँ कडा रूपमा रहने एउटा प्रक्रिया हुन्छ भने अर्कोतिर, भिरालो प्रकृतिका कारण त्यसमाथि गुरुत्वाकर्षण बल थपिँदा हिउँ लगातार तलतिर बगिरहने प्रक्रिया पनि चलिरहन्छ । त्यसले गर्दा नेपालका हिमनदी वा ताल फुट्ने खतरा रहिरहन्छ (श्रेष्ठ, सन् २०२४, शिलापत्र डट कम) ।

    २६. जलवायु परिवर्तनका कारण हिमनदी पग्लेर हिमताल बन्ने प्रक्रिया तीव्र छ । फलस्वरूप हिमताल विस्फोट पनि हुने गरेका छन् । सन् २०१६ मा भोटेकोशी नदीमा तिब्बतबाट आएको हिमबाढीले विनाश निम्त्याएको थियो । त्यस्तै प्रकारको हिमबाढी सिक्किमतर्फ पनि आउँदा त्यहाँको जलविद्युत् आयोजना बगाएको थियो (श्रेष्ठ, सन् २०२४, शिलापत्र डट कम) ।

    २७. इस्वीको एक्काइसौँ शताब्दीको अन्त अर्थात् सन् २१०० सम्म विश्वको तापक्रम वृद्धि १.५० डिग्री सेल्सियसमा रोक्ने लक्ष्य राखिएको छ तर अहिलेसम्म १.४८ डिग्री सेल्सियस तापक्रम पुगिसकेको छ । विज्ञका अनुसार अहिले नै हिमालका ३३ प्रतिशत हिउँ बिलाएर गइसकेका छन् । यही तापक्रम वृद्धि यथावत् रहन्छ भने यो शताब्दीको अन्तसम्म हिमालका दुईतिहाइ हिउँ समाप्त भएर जानेछन् (श्रेष्ठ, सन् २०२४, शिलापत्र डट कम) ।

    २८. अध्ययनका अनुसार हिन्दुकुश हिमालयमा ३,६३४ ओटा हिमताल छन् । त्यसमध्ये नेपालमा मात्रै २,०७० ओटा हिमताल छन् भने चीनमा १,५१९ ओटा र भारतमा ४५ ओटा हिमताल छन् । त्यसमध्ये ४७ ओटा हिमताल जोखिमयुक्त मानिएको छ । यीमध्ये २५ ओटा चीनमा, २१ ओटा नेपालमा र एउटा भारतमा छन् । यी कुल ४७ मध्ये २६ ओटा हिमतालले नेपाललाई असर पार्ने भनिएको छ । सन् १९७७ यताको घटना हेर्दा २६ ओटा हिमताल फुट्दा नेपाललाई प्रत्यक्ष/अप्रत्यक्ष असर परेको छ । यी २६ ओटामध्ये पनि १४ ओटा हिमताल नेपालमै फुटेका थिए भने बाँकी १२ ओटा तिब्बतमा (श्रेष्ठ, सन् २०२४, शिलापत्र डट कम) ।

    २९. हरितगृह ग्यासमा सबैभन्दा बढी हानिकारण ग्यास कार्बनडाइअक्साइड मानिन्छ । त्यसको औसन आयु ५० वर्ष मानिन्छ भने मिथेन ग्यासको आयु त्यो भन्दा बढी । यसबाट स्पष्ट हुन्छ, हरितगृह ग्यास विश्वको जुनसुकै देशले उत्सर्जन गरे पनि वायुमण्डलमा त्यसको प्रभाव ५० वर्षभन्दा बढी समयसम्म वायुमण्डलमा रहिरहन्छ । त्यसैले पर्यावरणरक्षाको विषय कति गम्भीर र दीर्घकालीन प्रकृतिको छ भन्नेबारेमा अहिले नै विश्व समुदायमा सही समझदारी कायम हुनुपर्ने आवश्यकता छ (श्रेष्ठ, सन् २०२४, शिलापत्र डट कम) ।

    चमोली घटनाको सन्दर्भ

    अहिलेका रसुवाबाढीको सन्दर्भमा भारतको चमोली घटनाले तादात्म्यता राख्दछ । यो हाम्रो भूगोलसँग मिल्दोजुल्दो घटना पनि हो । चमोली घटना सन् २०२१ मा घटेको थियो ।

    अहिलेजस्तै चमोलीमा पनि हिमताल फुटेर बाढी आएको बताइएको थियो तर वास्तविकता त्यस्तो थिएन । त्यहाँ पनि रोन्टी हिमालबाट हिमचट्टान भत्किएको थियो । यहाँजस्तै हिउँ, पानी, ढुङ्गासहितको गेग्रान ऋषिगङ्गा उपत्यकामा खसेको थियो । त्यस्तो भीषण बाढीले दुइटा जलविद्युत् आयोजना ध्वस्त भएका थिए भने २०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

    मार्च २०२६ मा “कम्युनिकेसन्स अर्थ एन्ड इन्भायरोमेन्ट” मा चमोली घटनाको सन्दर्भमा एउटा लेख प्रकाशन भएको थियो । रइस अहमत, अंशुमान भारद्वाज, लिडिया साम र ल्यान्डर भान ट्रिच्टले लेखेको सो लेखमा चमोली घटनालाई हिमपहिरोबाट उत्पन्न शृङ्खलाबद्ध विपत्तिको उदाहरण बताइएको थियो (श्रेष्ठ, २०८३, सेतोपाटी डट कम) ।

    सन् २०१६ मा पश्चिमी तिब्बतमा महिनादिनको अन्तरमा दुइटा हिमनदी लगभग पूरै भत्किएका थिए । “नेचर साइन्स” मा प्रकाशित एउटा अध्ययनमा उक्त घटनालाई जलवायु परिवर्तन र मौसमजन्य दबाबका कारण घटेको बताइएको थियो ।

    अब के गर्ने ?

    यस प्रश्नको उत्तरका मुख्यत: तीन भाग हुन सक्दछन् : एक– भौगर्भिक अध्ययनको पाटो, द्वितीय– जोखिम न्यूनीकरणको पाटो र तृतीय– पुनर्निर्माणको पाटो । त्यसका साथै तात्कालिक रूपमा गर्नुपर्ने उद्धार र राहतजन्य क्रियाकलाप त छँदैछ ।

    रसुवाबाढीको सन्दर्भमा २९ ओटा बुँदा र चमोली घटनाको चर्चाले स्पष्ट गरेका छन्– जलवायु परिवर्तन, मुख्यत: ग्लोबल वार्मिङकै कारणले हिमपहिरोजस्ता घटना घटिरहेका छन् । सूक्ष्म प्रमाणद्वारा यो तथ्यलाई पुष्टि गर्ने विधि पक्कै पनि फरकफरक होलान् र त्यो पुष्टि गर्न समय पनि लाग्ला तर समग्र रूपमा विश्वको तापक्रम बढेकै कारण हिमपहिरोजन्य घटना बढ्दो छ । मुख्यत: हिमालय शृङ्खलामा यी समस्या गम्भीर प्राकृतिक विपत्तिको रूपमा देखा परेका छन् । दक्षिण एसियाको कुरा गर्नुपर्दा नेपाल, भारत र तिब्बतका हिमालय शृङ्खलामा यी समस्या गम्भीर छन् ।

    हिमालय शृङ्खलाको भूगोललाई प्राकृतिक रूपमा यथावत राख्नका लागि दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता छ र यस्तो योजना विश्वव्यापी प्रकृतिको हुनुपर्दछ । त्यसै पनि नेपालजस्तो देशले अनाहकमा विपत्ति बेहोर्नुपरेको छ । नेपालले कार्बन उत्सर्जनमा कुनै प्रकारको भूमिका निर्वाह गर्दैन बरु पर्याप्त अक्सिजन उत्पादन गरेबापत विश्वबाट प्रोत्साहन राशि प्राप्त गर्दै आएको छ । यस्तो देशले हिमनदी वा हिमताल पग्लिने वा हिमपहिरो जानेजस्तो जलवायु परिवर्तनजन्य विपत्ति बेहोर्नु दु:खद छ ।

    जलवायु परिवर्तनका समस्या न्यूनीकरण गर्नु अर्थात् त्यसअन्तर्गत पृथ्वीको तापक्रम नियन्त्रण गर्नु अहिलेको विश्वव्यापी आवश्यकता हो तर विकसित भनिएका देशहरूले यस आवश्यकतालाई लत्याउँदै आएका छन् । उनीहरूको यस्तो नीति र प्रवृत्तिका विरुद्ध विश्वव्यापी मोर्चाबन्दीको आवश्यकता छ । त्यसका लागि नेपालजस्ता हिमाली मुलुकले पहलकदमी गर्नुपर्ने देखिन्छ ।

    यसको अर्को पाटो सुरक्षा र निगरानीसित सम्बन्धित छ । मुख्यत: सुरक्षालाई केन्द्रभागमा राखेर आवश्यक पहलकदमी गर्नु यसको अर्थ हो । त्यसका लागि आधुनिक प्रविधि र उपकरणको उपयोग गरेर भौगर्भिक हलचलको निगरानी गर्नु, जमिनसँग जोडिएका सिसिटिभी क्यामेरा, विभिन्न सेन्सरयुक्त उपकरण (उदाहरणका लागि साइरन), नदीमा जलसतह मापन तथा अन्य विकसित वैज्ञानिक उपकरणजस्ता प्रविधिको उपयोग गर्नु यसअन्तर्गत आउँछन् । यस सन्दर्भमा नेपाल धेरै कमजोर छ । यदि हामीसित पूर्वसूचना प्रणाली भएको भए रसुवा र त्यसभन्दा तल्लोतटीय क्षेत्रमा मानवीय क्षति कम गर्न सकिन्थ्यो ।

    विपत्तिका बेला सेकेन्ड र मिनटको धेरै महत्त्व हुन्छ भन्ने स्पष्ट छ । उदाहरणका लागि नुवाकोटको एउटा विद्यालयका प्रधानाध्यापकको केही मिनटको सतर्कताले त्यहाँका १,६०० विद्यार्थीको ज्यान जोगिएको थियो । त्यही खालको सतर्कता तल्लोतटीय क्षेत्रमा अपनाउन सकिएको भए मानवीय क्षति न्यूनीकरण गर्न सकिन्थ्यो ।

    नेपालमा हिमपहिरोजन्य विपत्तिको खतरा गम्भीर छ । पूर्वदेखि पश्चिमसम्मका उत्तरी हिमशृङ्खलामा वैश्विक तापक्रम वृद्धिले आगामी समयमा गम्भीर भौगर्भिक विपत्ति ल्याउने निश्चित छ । त्यसैले यस मामिलामा नेपाल सरकारले दु्रत योजना बनाएर काम गर्नुपर्दछ । अर्कोतर्फ, नेपाल आर्थिक रूपमा कमजोर छ । ऊ एक्लैले यी भौगर्भिक समस्याको समाधान गर्न सक्ने छैन । फेरि पनि यसका लागि अधिकतम बजेट विनियोजन गर्ने प्रयास गरिनुपर्दछ । त्यसका साथै नेपालले विश्व मञ्चमा जलवायु परिवर्तनसम्बन्धी विषयमा नेतृत्व लिने प्रयास गर्नुपर्दछ ।

    अर्को पाटो बस्ती व्यवस्थापन वा पुनर्निर्माणसित सम्बन्धित छ तर त्यो पनि दीर्घकालीन योजना हो । तत्कालका लागि उद्धार र राहत महत्त्वपूर्ण विषय हो । सरकारले मुख्यत: यसै विषयमा ध्यान दिनुपर्दछ । यस सन्दर्भमा रसुवाबाढीले ठुलो तप्कालाई सुकुम्वासी बनाएकाले सरकारले तिनीहरूको व्यवस्थापनबारे तत्कालै योजना बनाउनुपर्ने हुन्छ ।

    खासगरी रसुवा र नुवाकोटका बाढीद्वारा ध्वस्त बस्तीलाई पुन: सोही ठाउँमा आवाद गर्नु सम्भव छ कि छैन ? त्यसका लागि ठोस भौगर्भिक अध्ययन आवश्यक पर्नेछ तर यो सवाल खालि रसुवा र नुवाकोटसित मात्रै सम्बन्धित छैन, नेपालका नदीकिनारमा अरू पनि बस्तीहरू छन्, तिनीहरूको व्यवस्थापन कसरी गर्ने ? यस्ता बस्तीप्रति राज्यले कस्तो दृष्टिकोण अपनाउने ? यी विषय महŒवपूर्ण सवालको रूपमा हाम्रासामु उभिएका छन् ।

    अहिले जसरी विश्वव्यापी रूपमा विश्वको तापक्रम बढिरहेको छ, त्यसलाई केही दशकभित्र नियन्त्रण गर्न नसक्ने हो भने नेपालमा नदीकिनारमा मानव बस्ती मात्रै होइन, विश्वकै समुद्री बस्तीको बारेमा विचार गर्नुपर्ने हुन्छ किनकि सवाल हिमपहिरोको मात्रै होइन, असामान्य वर्षा हुनु, समुद्री पानीको तापक्रम बढ्नु, जलसतह बढ्नु र बेलाबेलामा समुद्रमा आउने सुनामीले गर्दा परिस्थिति गम्भीर बनिरहेको छ । हामीले मालदिव्सको उदाहरण लिन सक्छौँ । त्यो देश छिट्टै डुब्ने स्थितिमा छ । विश्वका थुप्रै समुद्री किनारका सहरले पनि ढिलो वा चाँडो मालदिव्सकै नियति बेहोर्नुपर्ने निश्चित छ ।

    निर्णायक पक्ष ग्लोबल वार्मिङको नियन्त्रण

    ग्लोबल वार्मिङका कारण हिमपहिरो जाँदा हामीजस्ता हिमाली देश चपेटामा परिरहेका छौँ । त्यससँगै समुद्री तापक्रमसमेत बढ्दै जाँदा मौसमी प्रणालीमा अनियमितता बढ्दै गएको छ । फलस्वरूप भूस्खलनजस्ता भौगर्भिक प्रक्रिया तीव्र बन्दै जाँदा समुद्री सतह माथि उठिरहेको छ । त्यसले गर्दा कैयौँ देश समुद्रमा समाधिस्थ हुनुपर्ने अवस्था छ । अर्कोतर्फ, बेलाबेलामा विभिन्न कारणले सामुद्रिक आँधी आउँदा पनि समुद्री देशहरू प्राकृतिक विपत्तिमा पर्दै गएका छन् । त्यसैले ग्लोबल वार्मिङ विश्वव्यापी समस्याको रूपमा मानवजातिसामु चुनौती बन्न पुगेको छ ।

    पृथ्वीमा मानव रहे मात्रै राष्ट्रहरू रहनेछन् र राष्ट्रहरू रहे मात्रै समाज । त्यसैले सिङ्गो मानवजाति र प्राणी जगत्को पनि अस्तित्व पृथ्वीमा कायम राख्नका लागि ग्लोबल वार्मिङको नियन्त्रण निर्णायक आवश्यकता बन्न पुगेको छ । रसुवाबाढीले हामी नेपालीलाई पनि ग्लोबल वार्मिङ नियन्त्रणबारे सही समझदारी कायम गर्न, त्यसबारे जनेचतना फैलाउन र हिमविपत्तिबारे यस्ता अभियानको नेतृत्व गर्नेतर्फ अग्रसर रहन शिक्षा दिएको छ ।

    सन्दर्भ सामग्री

    कट्टेल, डा. डी.बी. (२०८३ भदौ १४ गते). “रसुवाबाढीको सम्भावित वैज्ञानिक विश्लेषण : कसरी भत्कियो हिमनदी ?”. शिलापत्र डट कम. https://shilapatra.com/detail/193770

    गौतम, खिमलाल (सेप्टेम्बर ९, २०२६). “हिउँ पग्लिँदैछ, हिमनदीहरू रोगी भइरहेका छन्” (अन्तर्वार्ता). अन्तर्वार्ताकार दुर्गा खनाल. अनलाइन खबर डट कम. https://www.onlinekhabar.com/2026/09/2008588/the-snow-is-melting-the-glaciers-are-getting-sick

    दोङछी, झाङ र लिजुआन, मा (२०८३ भदौ १७ गते). “के हिमपहिरो जाने कुरा पहिल्यै थाहा पाउन सम्भव थियो ?” (अन्तर्वार्ता). शिलापत्र डट कम. https://shilapatra.com/detail/194020

    पराजुली, विनोद (२०८३ भदौ १५ गते). “चीनलाई दोष दिने ठाउँ छैन तर भविष्यमा सहकार्य अत्यावश्यक छ” (अन्तर्वार्ता). नेपाल प्रेस डट कम. https://nepalpress.com/2026/08/31/758872/there-is-no-place-to-blame-china-but-cooperation-is-essential-in-the-future-flood-expert-parajuli/

    श्रेष्ठ, डा. अरुणभक्त (२०८३ भदौ २१ गते). “नेपालका हिमनदी र बाढीको बदलिँदो अनुहार”. शिलापत्र डट कम. https://shilapatra.com/detail/194305

    श्रेष्ठ, डा. उत्तमबाबु (२०८३ भदौ १८ गते). “अब आकाशबाट हेरौँ, हिमालमा के हुँदैछ ?”. अनलाइन खबर डट कम. https://www.onlinekhabar.com/2026/09/2009648/now-lets-look-from-the-sky-whats-happening-in-the-mountains

    श्रेष्ठ, सुदीप (२०८३ भदौ १२ गते). “लाङटाङमा हिमनदीको पहाड कसरी खस्यो ? वैज्ञानिकहरू के भन्दैछन् ?”. सेतोपाटी डट कम. https://www.setopati.com/social/397071

    श्रेष्ठ, सुदीप (२०८३ भदौ १३ गते). “नयाँ भिडियो र स्याटलाइट तस्बिरले देखाएको लाङटाङमा पहाड खसेपछिको ७ मिनट”. सेतोपाटी डट कम. https://www.setopati.com/social/397132

    श्रेष्ठ, सुदीप (२०८३ भदौ १६ गते). “लाङटाङ विपत्तिको ७ दिन अघिसम्म स्याटलाइटले देखाएको हिमचट्टान क्षेत्रको हलचल”. सेतोपाटी डट कम. https://www.setopati.com/social/397313

    श्रेष्ठ, सुदीप (२०८३ भदौ १७ गते). “केरुङसम्म आइपुग्दा बाढीले कसरी त्यो रौद्र रूप लियो ? ५ कारण”. सेतोपाटी डट कम. https://www.setopati.com/social/397403

    २०८३ भदौ २७ गते
    बुढानीलकण्ठ–१०, काठमाडौँ

    शनिबार, भदौ २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फर्सबहादुर सुनारप्रति मसालको श्रद्धाञ्जली
    श्रीगङ्गानगरमा मूल प्रवाहद्वारा रसुवाबाढीका प्रभावितका लागि राहत सङ्कलन सुरु
    बुटवलबाट ‘मनसुन’ साप्ताहिकको प्रकाशन सुरु
    शिवराज–११ मा राजमोको भेला, अध्यक्षमा चमार (फोटासहित)
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ
    विशेष सम्पादकीय

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      फर्सबहादुर सुनारप्रति मसालको श्रद्धाञ्जली

    • २.
      रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ

    • ३.
      श्रीगङ्गानगरमा मूल प्रवाहद्वारा रसुवाबाढीका प्रभावितका लागि राहत सङ्कलन सुरु

    • ४.
      बुटवलबाट ‘मनसुन’ साप्ताहिकको प्रकाशन सुरु

    • ५.
      शिवराज–११ मा राजमोको भेला, अध्यक्षमा चमार (फोटासहित)

    • ६.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • ७.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ८.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.