काठमाडौँ, भदौ १६ । नेकपा (मसाल) का महामन्त्री एवं प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहद्वारा लिखित ‘१२ मे’ नाटक भदौ २१ गते नै मञ्चन हुने भएको छ । नाटक प्रदर्शनबाट खर्च कटाएर बचत भएको रकमको ५० प्रतिशत बाढीपीडित राहत कोषमा प्रदान गरिने आयोजकले जनाएको छ।
भोटेकोशी, त्रिशूलीलगायत देशका विभिन्न स्थानमा बाढीका कारण भएको जनधनको क्षतिलाई ध्यानमा राख्दै राहत कोषमा सहयोग गर्ने निर्णय गरिएको नाटक प्रदर्शन व्यवस्थापन समितिले जनाएको छ ।
समितिका संयोजक आनन्दराज शर्माका अनुसार नेपाल प्रज्ञा–प्रतिष्ठानको मुख्य सभाहलमा हुने प्रदर्शनमा विभिन्न क्षेत्रका नेता, साहित्यकार, कलाकार, व्यवसायी, गन्यमान्य व्यक्तित्व तथा दर्शकको सहभागिता रहनेछ ।
“यो नाटक मनोरञ्जनमा मात्र सीमित छैन । कठिन परिस्थितिको सामना कसरी गर्ने भन्ने शिक्षा दिने उद्देश्यसमेत यसमा छ,” शर्माले भन्नुभयो, “देश कठिन परिस्थितिबाट गुज्रिरहेको अवस्थामा पनि नाटकलाई सिर्जनात्मक गतिविधिका रूपमा अघि बढाएका हौँ।”
‘१२ मे’ नाटकको विषयवस्तु मूल प्रवाह अखिल भारत नेपाली समाज (तत्कालीन अखिल भारत नेपाली एकता समाज) ले राष्ट्रिय पञ्चायत निर्वाचन बहिष्कारको पक्षमा सन् १९८६ मे १२ मा नयाँदिल्लीमा गरेको प्रदर्शनमा आधारित छ । उक्त प्रदर्शनका क्रममा भारतीय प्रहरीले १० महिलासहित ९५ जनालाई गिरफ्तार गरी जेल चलान गरेको थियो ।

