काठमाडौँ, भदौ ११ । चीनसँगको सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत त्रिसुली नदी आएको अप्रत्याशित बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीसहितका जिल्लामा भएको जनधनको क्षतिप्रति सर्वदलीय बैठकले गहिरो दुःख व्यक्त गरेको छ ।
बैठकले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइतेको उपचार, हेरचाह र मनोसामाजिक सहयोग राज्यले सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । विपद्को समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय एकता कायम गर्दै उद्धार तथा राहतमा सहकार्य गर्ने प्रतिबद्धता दलहरूले जनाएका छन् ।
सर्वदलीय बैठकले राहत तथा उद्धार कार्यको राजनीतिकरण नगर्न, आर्थिक सहयोग सरकारी एकद्वार प्रणालीमार्फत मात्र गर्न र सामाजिक सञ्जालमा प्रमाणित तथा संवेदनशील सूचना मात्रै प्रवाह गर्न आह्वान गरेको छ।
त्यस्तै, जोखिमपूर्ण हिमतालको वैज्ञानिक अध्ययन तथा नक्साङ्कन, चीनसँग सीमापार संयुक्त अध्ययन, वास्तविक समयको पूर्वसूचना तथा तथ्याङ्क आदानप्रदान प्रणाली सुदृढ गर्न सरकारसँग माग गरिएको छ । स्थानीय तह, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्वयंसेवकहरूको उद्धार कार्यमा योगदानको उच्च सम्मान गर्दै राष्ट्रिय विपद्लाई पूर्वतयारी र उत्थानशीलता बढाउने अवसरका रूपमा रूपान्तरण गर्ने साझा संकल्पसमेत बैठकले गरेको छ ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपालगायत विभिन्न दलका नेताहरू तथा मन्त्री र सांसदहरूको सहभागिता रहेको थियो ।


