१० भदौ, काठमाडौं । बुधबार बिहान करिब ९ बजे चीनको तिब्बततर्फबाट अचानक आएको बाढीले रसुवाको भोटेकोशीदेखि त्रिशूली नदीको तल्लो तटीय क्षेत्रसम्म क्षति पुर्यायो । बाढीले बस्ती, बजार, सडक, पुल, जलविद्युत् आयोजना, प्रसारण संरचना र सीमावर्ती व्यापारिक पूर्वाधारमा क्षति पुर्याएको प्रारम्भिक विवरणहरू सार्वजनिक भएका छन् ।
बाढीको पूर्ण क्षति र मानवीय क्षतिको यकिन विवरण अझै आइसकेको छैन । प्रशासनले नदी किनारमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानतर्फ जान आग्रह गर्दै रसुवादेखि नुवाकोट, धादिङ, गोरखा, चितवन हुँदै मुग्लिनसम्म उच्च सतर्कता अपनाउन भनेको छ ।
प्रभावित बजार र बस्ती
रसुवा नाका, टिमुरे, चिलिमे, स्याफ्रुबेंसी, त्रिशुली जलविद्युत्, मैलुङ, त्रिशुली थ्रीबी सबस्टेशन, बेत्रावती, त्रिशूली बजार, देवीघाट हाइड्रोपावर, कोहरपुर टार, गल्छी, गजुरी, मलेखु, रुवाकोट, मझिमटार र मुग्लिन रहेका छन्
समग्रमा बाढीले दर्जनौं बस्ती, सडक, पुल, भन्सार संरचना र १३ देखि १५ वटा जलविद्युत आयोजनामा असर पुर्याएको छ । विद्युत् उत्पादन ठप्प भएको छ । यी जिल्लाभित्रका सडक पूर्ण रूपमा अवरुद्ध छन् । व्यवसायीहरूले ठूलो आर्थिक क्षति बेहोरेका छन् । किसानहरूको बाली नोक्सान भएको छ । भौतिक संरचनासँगै मानवीय क्षति पनि निकै भएको भन्दै अहिले उद्धार कार्यलाई तीव्र बनाइएको छ ।

