काठमाडौं । सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि आह्वान गरिएको दरखास्त प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।
न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले हालका सीईओ कपिलकुमार दाहालले दायर गरेको रिटमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। दाहालविरुद्ध धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा हिरासतमा परेपछि उनी निलम्बनमा परेका थिए। पछि धरौटीमा रिहा भई तारिखमा रहेका छन्।
दाहालको निलम्बन कायम रहने वा नरहने तथा पद रिक्त मानी नयाँ सीईओ नियुक्ति प्रक्रिया अघि बढाउन मिल्ने–नमिल्ने विषयमा कानुनी प्रश्न उठेको भन्दै अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ।
अन्तरिम आदेशबारे दुवै पक्षको छलफलका लागि आगामी भदौ १५ गते पेसी तोकिएको छ। त्यसबेलासम्म हिमालयन लाइफले भदौ ३ गते प्रकाशित गरेको सीईओ पदको दरखास्त आह्वानसम्बन्धी सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्न अदालतले आदेश दिएको हो।