काठमाडौँ, भदौ ८ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टको अनुसन्धानमूलक पुस्तक ‘सहकारीमा ठगीको जालो’ छिट्टै बजारमा आउने भएको छ । पुस्तकमा देशका विभिन्न सहकारी ठगी प्रकरण, त्यसमा देखिएको संगठित अपराध तथा राजनीतिक व्यक्तिहरूको संलग्नतासँग जोडिएका विषयलाई अध्ययन तथा विश्लेषण गरिएको बताइएको छ।
लेखक भट्टका अनुसार पुस्तकमा सहकारी क्षेत्रमा भएका विभिन्न ठगीका घटना, त्यससँग जोडिएका व्यक्ति तथा प्रवृत्तिमाथि अनुसन्धान गरिएको छ । पुस्तकमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछाने, नेपाली कांग्रेसका नेता धनराज गुरुङलगायत सहकारी ठगीका विभिन्न प्रकरणसँग जोडिएका चर्चित व्यक्ति र घटनाबारे चर्चा गरिएको जनाइएको छ ।
८८‘सहकारीमा ठगीको जालो’८८मा सहकारी क्षेत्रमा देखिएका आर्थिक अनियमितता, बचतकर्ताको रकम हिनामिना तथा संगठित रूपमा सञ्चालन भएका ठगीका घटनालाई अनुसन्धानमूलक ढंगले प्रस्तुत गरिएको लेखक पक्षको दाबी छ। सहकारी ठगीका घटनामा राजनीतिक पहुँच, संरक्षण र प्रभावको भूमिका कस्तो रह्यो भन्ने विषयलाई समेत पुस्तकले केन्द्रमा राखेको बताइएको छ।
संगठित सहकारी ठगीमा संलग्न व्यक्ति तथा प्रवृत्तिको अध्ययन गर्दै राजनीतिक संरक्षणमा मौलाएको भनिएको ठगीको जालोलाई उजागर गर्ने प्रयास पुस्तकमार्फत गरिएको प्रकाशन पक्षले जनाएको छ। पछिल्लो समय नेपालको सहकारी क्षेत्रमा देखिएका ठगीका ठूला प्रकरण र त्यसमा राजनीतिक पहुँच तथा प्रभावको प्रश्न निरन्तर उठिरहेका बेला भट्टको पुस्तक सार्वजनिक हुन लागेको हो।
भुँडी पुराण प्रकाशनले प्रकाशनमा ल्याउन लागेको पुस्तक ३१२ पृष्ठको रहेको छ। पुस्तकको मूल्य ५५० रुपैयाँ तोकिएको लेखक भट्टले जानकारी दिएका छन्। पुस्तकको विमोचन भदौ २८ गते काठमाडौँमा हुने बताइएको छ।
भट्टका यसअघि ‘नेपाल–भारत सम्बन्ध’, ‘चिनियाँ तथा भारतीय साम्राज्यवाद’ र ‘जलजला उपन्यासको समालोचना’ लगायतका कृति प्रकाशित भइसकेका छन्।
नयाँ पुस्तकमा नेपालको सहकारी संकटलाई राजनीतिक, आर्थिक तथा संगठित अपराधका विभिन्न पक्षसँग जोडेर विश्लेषण गरिएको बताइएको छ । सहकारी क्षेत्रमा भएका ठूला ठगी प्रकरण र तिनमा राजनीतिक पहुँच तथा संरक्षणको प्रश्न बहसमा रहेका बेला प्रकाशित हुन लागेको यो पुस्तकले उक्त विषयमा थप बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।