काठमाडौँ । राष्ट्रिय जनमोर्चाको बाइसौँ पार्टीस्कुल समापन भएको छ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको प्रमुख आतिथ्यमा २०८३ साउन २५ गते सोमबार सो कार्यक्रम समापन भएको हो ।
मसालका केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीको सञ्चालन तथा पार्टीस्कुलका प्रमुख प्रशिक्षक दुर्गानाथ खरेलको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा महामन्त्री सिंहसँगै प्रशिक्षार्थीको तर्फबाट कमलबहादुर बरैमगर (कर्णाली), चन्द्रदेव विक (सुदूरपश्चिम), निर्मल पौडेल (बागमती), खिमबहादुर विक (लुम्बिनी), भीमप्रसाद शर्मा (गण्डकी), कृष्णा रावल (महिला प्रतिनिधि) र मेस व्यवस्थापनको तर्फबाट कृष्ण बरालले सङ्क्षिप्त मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा राजमो उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, राजमो केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभाका सांसद तारा थापा र प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगरलगायतको आतिथ्य रहेको थियो ।
सो अवसरमा २२ जना प्रशिक्षार्थीलाई राजमो उपाध्यक्ष तथा प्रवक्ता पौडेलले सहभागिता प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
सामन्तवाद र साम्राज्यवाद विरुद्ध लड्न तयार हुनुस् : सिंह
कार्यक्रममा सङ्क्षिप्त मन्तव्य राख्दै मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रशिक्षार्थीहरू सामन्तवाद र साम्राज्यवादको विरुद्ध लड्न तयार हुनुपर्ने बताउनुभयो ।

‘प्रशिक्षणमा भाग लिनुभएका साथीहरूका सामु गम्भीर चुनौती छन्’ उहाँले भन्नुभयो– ‘देशमा फासिवादी खतराको विरुद्ध लड्नुपर्नेछ । साम्राज्यवादका विरुद्ध लड्नुपर्नेछ । अहिले देखा परेको लोकप्रियतावादको विरुद्ध लड्नुपर्नेछ ।’
उहाँले प्रशिक्षार्थीलाई आआफ्नो जिल्लामा पुगेर सामन्तवाद, साम्राज्यवाद र लोकप्रियतावादका विरुद्ध भूमिका खेल्न आग्रह गर्नुभयो ।
जनताको सहभागिताविना कुनै पनि क्रान्तिकारी भूमिका खेल्न सम्भव नहुने बताउँदै उहाँले जनताको चेतनास्तर उच्च बनाउनका लागि प्रशिक्षार्थीले काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
मन्तव्यको क्रममा अर्को वर्ष हुन थालेको स्थानीय तह र प्रदेशसभा चुनावमा भूमिका खेल्ने मानसिकता बनाउन पनि आग्रह गर्नुभयो ।