काठमाडौँ । देशभर यथावत् रहेको मनसुनी वायुको प्रभावले आज देशका केही स्थानमा भारी वर्ष हुने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सो जानकारी दिएको हो ।
महाशाखाले मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको बताएको छ ।
हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन वा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
त्यस्तै कोशी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेस प्रदेश तथा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन वा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ । कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेस प्रदेश लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन वा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी कोशी प्रदेशको पहाडी र तराई भूभाग साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।