काठमाडौँ । एक रुपैयाँको नयाँ सिक्काको डिजाइन लिम्पियाधुरा समेटिएको नक्सासहितको तयार भएको छ । उक्त डिजाइनमा आकाशभैरवको चित्र पनि राखिएको छ ।
अर्थमन्त्रालयका अनुसार उक्त डिजाइन अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि सिक्का निर्माणको काम अघि बढ्नेछ ।
यसअघि नेपाल राष्ट्र बैङ्कले मुस्ताङको घार गुम्बासहित तस्बिर राख्ने गरी स्वीकृतिका लागि पठाएको डिजाइनलाई मन्त्रिपरिषद्ले फिर्ता गरिदिएको थियो । राष्ट्र बैङ्कलाई एक रुपैयाँको सिक्काको प्रस्तावित डिजाइन परिमार्जन गरेर नयाँ प्रस्ताव बनाएर ल्याउन सरकारले भनेको थियो ।
राष्ट्र बैङ्क ऐनमा कुनै पनि नोट वा सिक्काको डिजाइन स्वीकृत गर्दा वा डिजाइन परिवर्तन गर्दा त्यसलाई मन्त्रिपरिषद्बाट स्वीकृत गराउनुपर्ने व्यवस्था छ ।
हाल रहेको एक रुपैयाँको सिक्का तयार पार्दा त्यो भन्दा बढी मूल्य पर्न गएकाले भार कम गर्ने गरी तौल र आकारमा परिमार्जन गर्न लागिएको राष्ट्र बैङ्कले जनाएको छ ।
नयाँ सिक्कामा मिश्रित धातु रहनेछ भने त्यसमा ६४ ओटा थोप्ला हुनेछन्, जुन ६४ योगिनीको प्रतीक मानिएको छ ।