काठमाडौं, ३० असार । नेपालमा जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २.७२ प्रतिशतको तुलनामा झन्डै दोब्बर हो।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको ११ महिनाको औसत मुद्रास्फीति भने २.८९ प्रतिशत रहेको छ।
खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ५.३७ प्रतिशत रहेको छ। फलफूल, घिउ तथा तेल, माछामासु, तरकारी, यातायात र विविध सेवा क्षेत्रमा उल्लेख्य मूल्यवृद्धि भएको छ।
प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ५.७५ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ४.६१ प्रतिशत मुद्रास्फीति रहेको छ। भौगोलिक रूपमा तराईमा महँगी सबैभन्दा बढी ५.७४ प्रतिशत देखिएको छ।
यस्तै, थोक मुद्रास्फीति पनि अघिल्लो वर्षको १.५६ प्रतिशतबाट बढेर ८.४७ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ। प्रतिवेदनअनुसार सन् २०२६ मे महिनामा भारतको मुद्रास्फीति ३.९३ प्रतिशत रहेको छ, जुन नेपालको भन्दा कम हो।