दाङ, साउन १३ — विद्यालय व्यवस्थापन समिति निर्वाचनमा खटिएका शिक्षा अधिकृतमाथि प्रयोग गरिएको इन्जिन तेल खन्याएर दुर्व्यवहार गरेको आरोपमा घोराही उपमहानगरपालिका–१५ का वडासदस्य लेखनाथ बुढाथोकी पक्राउ परेका छन्।
Advertisement
गत साउन ११ गते पद्मोदय पब्लिक मोडल माध्यमिक विद्यालयको व्यवस्थापन समिति निर्वाचनका लागि निर्वाचन अधिकृतका रूपमा खटिएका शिक्षा अधिकृत अजय बोहोरामाथि बुढाथोकीले बाटोमै रोकी प्रयोग गरिएको इन्जिन तेल खन्याएको आरोप छ।
घटनापछि फरार रहेका बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय दाङले सोमबार पक्राउ गरेको हो। उनीविरुद्ध अमानवीय तथा अपमानजनक व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि घोराही उपमहानगरपालिकाका कर्मचारीहरूले दोषीमाथि कारबाहीको माग गर्दै विरोधसमेत गरेका थिए।