काठमाडौं, २६ असार – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार तरकारी, फलफूल, मसला तथा माछासहित विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरिएको हो।
आज ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ५० रुपैयाँ, सानो (लोकल) गोलभेँडा १५ रुपैयाँ र टनेल गोलभेँडा २८ रुपैयाँ कायम गरिएको छ। रातो आलु (लाम्चो) ४७ रुपैयाँ, भारतीय आलु ३० रुपैयाँ तथा भारतीय सुकेको प्याज ५५ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
तरकारीतर्फ स्थानीय गाजर १०० रुपैयाँ, तराई गाजर ९० रुपैयाँ, स्थानीय बन्दा ५० रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ, रातो मूला ३२ रुपैयाँ, हाइब्रिड सेतो मूला २० रुपैयाँ, लाम्चो भन्टा २५ रुपैयाँ र डल्लो भन्टा ३५ रुपैयाँ प्रतिकिलो तोकिएको छ।
यसैगरी, मटरकोसा १४० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, टाटे सिमी ६० रुपैयाँ, तीते करेला ३० रुपैयाँ, लौका ३५ रुपैयाँ, घिरौँला ४० रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ, भिन्डी ३५ रुपैयाँ, सखरखण्ड १२० रुपैयाँ, पिँडालु १०० रुपैयाँ र इस्कुस ५० रुपैयाँ प्रतिकिलो कायम गरिएको समितिले जनाएको छ।
हरियो सागमध्ये रायोको साग ४० रुपैयाँ, पालुङ्गो र चमसुरको साग ६०–६० रुपैयाँ तथा तोरीको साग ५० रुपैयाँ प्रतिकिलो रहेको छ। च्याउतर्फ कन्य च्याउ ३०० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ एक हजार रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती १७० रुपैयाँ, अनार ५०० रुपैयाँ, मालदह आँप १६० रुपैयाँ, दशहरी आँप १७० रुपैयाँ, हरियो तरबुजा ७० रुपैयाँ, जुनार ३०० रुपैयाँ तथा नासपाती २७० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
त्यस्तै, अदुवा २०० रुपैयाँ, सुकेको खुर्सानी ५०० रुपैयाँ, हरियो लाम्चो खुर्सानी ५० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, हरियो धनियाँ ८० रुपैयाँ तथा रहु माछा ३४० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। समितिले यी मूल्यहरू कालीमाटी बजारमा कारोबार हुने अधिकतम थोक मूल्यका रूपमा सार्वजनिक गरेको जनाएको छ।