ललितपुर, असार १५ । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले “समावेशिता, विविधता र सद्भावका बीउ रोपौँ” भन्ने नारासहित पाटन दरबार स्क्वायरमा इन्द्रेणी रोपाइँ जात्रा मनाएका छन्। मायाको पहिचान नेपालसहित विभिन्न संस्थाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरूले परम्परागत शैलीमा धान रोपाइँ गर्दै विविधता र समावेशिताको सन्देश दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले इन्द्रेणी रोपाइँ जात्रा केवल कृषि संस्कृतिसँग सम्बन्धित कार्यक्रम नभई नेपालको इतिहास, संस्कृति र विविधताको सम्मान गर्ने अवसर भएको बताए। उनले रोपाइँ जात्रामा भूमिका साटासाट गर्ने परम्पराले सामाजिक सहअस्तित्व र विविधताको सम्मान झल्काउने उल्लेख गरे।
पन्तले नेपालको लैङ्गिक तथा यौनिक विविधताको इतिहास र परम्परा पश्चिमी प्रभावभन्दा धेरै पुरानो रहेको बताउँदै गाईजात्रा, मारुनी, रतेउली, लाखेलगायत सांस्कृतिक अभ्यासमा यसको प्रतिबिम्ब देखिने धारणा राखे। उनले आफ्नै इतिहास, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा जोड दिँदै इन्द्रेणी रोपाइँ जात्राले सांस्कृतिक गौरव र समानताको भावना बलियो बनाउने विश्वास व्यक्त गरे।