ललितपुर । राष्ट्रिय जनमोर्चा ललितपुरका अध्यक्ष तथा जेठा छोरा दीपराम महर्जन, राजमो शुभचिन्तक तथा माहिलो छोरा हरिबहादुर महर्जन, कान्छो छोरा राम महर्जन र छोरी राममायाकी आमा तुयू महर्जनको स्मृतिमा शोकसभा सम्पन्न भएको छ ।
राजमो केन्द्रीय कार्यवाहक अध्यक्ष रश्मिराज नेपाली तथा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीको उपस्थितिमा उहाँकै निवासस्थान हरिसिद्धि ललितपुरमा २०८३ असार १३ गते शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।
राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्माको सहजीकरणमा अघि बढेको उक्त कार्यक्रममा सङ्क्षिप्त शोकमन्तव्य राख्दै राजमो कावा अध्यक्ष नेपालीले तुयूको मृत्युले कम्युनिस्ट आन्दोलनमा क्षति पुगेको बताउनुभयो ।
पञ्चायती कालरात्रीमा कम्युनिस्ट पार्टीसित सम्बन्ध राख्ने परिवारको उच्च महŒव रहेको उहाँको भनाइ थियो ।
सामाजिक परिवर्तनका लागि काम नगर्नेहरूको मृत्यु कपासझैँ हलुको हुने बताउँदै उहाँले भन्नुभयो– ‘तर तुयू महर्जनको मृत्यु भने हिमालझैँ भारी र गह्रुँगो साबित भएको छ ।’

महिलाहरूको सहयोगविना कुनै पनि परिवर्तनको आन्दोलन अगाडि बढ्न नसक्ने स्पष्ट पार्दैै उहाँले तुयूको भूमिका त्यही प्रकारको विशिष्ट रहेको स्पष्ट पार्नुभयो ।
त्यस्तै, शोकमन्तव्य राख्दै मसालका प्रवक्ता रामप्रकाश पुरीले ललितपुरको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन महर्जन परिवारको ठुलो योगदान रहेको बताउनुभयो ।
निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध सङ्घर्षरत कम्युनिस्ट आन्दोलनका पुरानो पुस्तालाई सेल्टर दिनु धेरै नै महत्वपूर्ण कार्य रहेको उहाँले स्मरण गर्नुभयो ।

जन्मपछि मृत्यु स्वाभाविक रहेको भए पनि तुयूले दीर्घ जीविन बाँचेर कम्युनिस्ट आन्दोलनलाई योगदान दिनुभएको उहाँको भनाइ थियो ।
मृतकप्रति श्रद्धाञ्जली तथा शोकाकूल परिवारप्रति समवेदना व्यक्त गर्दैै उहाँले शोकलाई शक्तिमा बदल्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रमको सहजीकरण गर्दै राजमो नेता शर्माले मोहनविक्रम सिंह, निर्मल लामा, काइला बालगायतको पुराना कम्युनिस्ट पङ्क्तिले महर्जन परिवारबाट सेल्टर पाएको स्मरण गर्नुभयो ।
नेपालको लोकतान्त्रिक तथा वामपन्थी आन्दोलनमा हरिसिद्धि गाउँका महर्जन परिवारले आफू नदेखिएरै धेरै योगदान गरेको उहाँको दाबी थियो ।
कार्यक्रममा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोका, प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर, राष्ट्रिय सहकारी अभियानका महासचिव रमेश पौडेल, राजमो केन्द्रीय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष लालबहादुर थापा, राजमो केन्द्रीय सदस्य सुधा शर्मा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का नीलगोविन्द महर्जन, मसालका काठमाडौँ जिल्ला प्रवक्ता जगतप्रसाद रेग्मी, नेपाल पत्रकार महासङ्घ काठमाडौँका सदस्य गोविन्द शर्मालगायतको प्रतिनिधिमूलक उपस्थिति रहेको थियो ।
१९९१ वैशाखमा जन्मनुभएकी तुयूको ९३ वर्षको उमेरमा गत असार ८ गते उपचारकै क्रममा निधन भएको थियो ।


