काराकास । भेनेजुएलाको क्यारिबियन तटीय क्षेत्रमा बुधबार साँझ ३९ सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्प गएका छन्। अमेरिकी सुनामी चेतावनी केन्द्रका अनुसार ७.५ म्याग्निच्युडको मुख्य भूकम्प जानुअघि ७.२ म्याग्निच्युडको पूर्वकम्प गएको थियो।
केन्द्रले यस घटनालाई ‘सेस्मिक डब्लेट’ अर्थात् छोटो समयमै एउटै क्षेत्रमा दुई ठूला भूकम्प गएको अवस्थाका रूपमा व्याख्या गरेको छ। प्रारम्भमा ७.२ म्याग्निच्युडको भूकम्पलाई मुख्य घटना मानिए पनि विस्तृत विश्लेषणपछि ७.५ म्याग्निच्युडको भूकम्पलाई मुख्य घटनाका रूपमा दर्ता गरिएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु भेनेजुएलाको काराबोबो राज्यस्थित मोन्टालबान नगरपालिका क्षेत्रमा रहेको थियो। राजधानी काराकासबाट करिब ३०० किलोमिटर पूर्वमा रहेको उक्त केन्द्रबिन्दु पृथ्वीको सतहबाट १३.२ किलोमिटर गहिराइमा रहेको बताइएको छ।
भूकम्पपछि पुएर्टो रिको र अमेरिकी भर्जिन टापुहरूका लागि जारी गरिएको सुनामी चेतावनी पछि खारेज गरिएको थियो। हालसम्म मानवीय तथा भौतिक क्षतिको यकिन विवरण सार्वजनिक भएको छैन।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार काराकाससहित देशका विभिन्न क्षेत्रमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो। सम्भावित क्षतिको मूल्याङ्कन तथा आधिकारिक पुष्टि भने अझै हुन बाँकी छ।