तमघास, १० असार । गुल्मीको इस्मा गाउँपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका–५ रातामाटाकी ३७ वर्षीया मुना कुमालको श्रीमानको कुटपिटबाट मृत्यु भएको हो। गएराति करिब ११ः३५ बजे ४१ वर्षीय यमबहादुर कुमालले मादक पदार्थ सेवन गरी आफ्नी श्रीमती मुनामाथि दाउराको चिर्पटले आक्रमण गरेका थिए ।
कुटपिटबाट शरीरका विभिन्न भागमा गम्भीर चोट लागेर अचेत भएकी मुनालाई घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी धनार्जेबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्याएको थियो । तर उपचारकै क्रममा आज बिहान करिब ९ः५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् ।
घटनामा संलग्न यमबहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भीमकिरण बोगटीका अनुसार घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक विवेक घलेको नेतृत्वमा अनुसन्धान टोली खटाइएको छ।
प्रहरीले आरोपित श्रीमानलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ। घटनास्थल प्रहरी चौकी धनार्जेबाट करिब एक किलोमिटर दूरीमा रहेको छ।