बागलुङ, असार ३ । बागलुङ नगरपालिका–३ रातमाटास्थित मध्यपहाडी लोकमार्गमा बिहीबार दिउँसो दुई जिप एकआपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्।
प्रहरीका अनुसार दिउँसो करिब १ः४० बजे बागलुङ बजारबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु१ज २७३९ नम्बरको फोर्स जिप र विपरीत दिशाबाट आउँदै गरेको लु२च ६२०५ नम्बरको बोलेरो जिप एकआपसमा ठोक्किएर दुर्घटना भएको हो। फोर्स जिप ढोरपाटन नगरपालिका–१ निवासी २४ वर्षीय अनिल विकले चलाएका थिए भने बोलेरो जिप गुल्मीको मुसिकोट नगरपालिका–४ पाउदी निवासी ३५ वर्षीय सन्तोष थापाले चलाएका थिए।
दुर्घटनामा फोर्स जिपमा सवार १४ जनामध्ये पाँच जना घाइते भएका छन्। घाइते हुनेहरूमा निसीखोला गाउँपालिका–४ निवासी १६ वर्षीया रेनु विक, १७ वर्षीया लक्ष्मी सुनार, १७ वर्षीया दिलमाया रसाइली, निसीखोला गाउँपालिका–३ बोहोरागाउँ निवासी १५ वर्षीय हिमाल शाही ठकुरी र १७ वर्षीया लक्ष्मी विक रहेका छन्।
घाइते रेनु विकको शरीरका विभिन्न भागमा भित्री चोट लागेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको चिउँडो, मुख, आँखा तथा हातमा सामान्य चोट लागेको बताइएको छ।
सबै घाइतेलाई उपचारका लागि धौलागिरी प्रादेशिक अस्पताल, बागलुङमा भर्ना गरिएको छ। दुर्घटनामा संलग्न दुवै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुवै सवारीसाधन घटनास्थलमै रहेका छन्।
प्रहरीका अनुसार दुर्घटनापछि पनि मध्यपहाडी लोकमार्गमा यातायात आवागमन प्रभावित नभएको र सडक सञ्चालन सामान्य रहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।